Nidan Media

२५ वर्षपछि किन म्यूजिक भिडियो खेलिन् रेखाले ?

अभिनयको २५ वर्ष लामो करियरमा गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहूँ’ गीतको एकमात्र म्युजिक भिडियो अभिनय गरेकी अभिनेत्री रेखा थापा फेरि भिडियोमा देखिने भएकी छन् । उनी प्रकाश सपुतको कम्पोजिसन तथा निर्देशनमा तयार भएको ‘नाइँ भनेसि नाइँ’ बोलको भिडियोमा देखिन लागेकी हुन् ।
नेपालको पहिलो महिला सुपरस्टार रेखा थापा फिल्म बाहेक अन्यत्र लगभग कहिल्यै देखिएकी छैनन्। उनका थुप्रै समकालीन तथा अनुज अभिनेत्रीहरूले फिल्मको सीमाभित्र मात्र रहन सकेका थिएनन्। उनीहरूले प्रशस्त म्यूजिक भिडियो खेलेका छन्। तर थापाले भने आफ्नो झन्डै २५ वर्ष लामो करियरमा हालसम्म एउटामात्र म्यूजिक भिडियो खेलेकी छिन्। उनले त्यो म्यूजिक भिडियो आफ्नो करियरमा संघर्षरत हुँदा खेलेकी हुन्। उनले खेलेको एकमात्र म्यूजिक भिडियो चर्चित गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहुँ’ हो।

त्यसपछिका वर्षहरूमा फिल्मसरह पारिश्रमिकको प्रस्ताव आए पनि कुनै म्यूजिक भिडियो नखेलेकी रेखा अब दोस्रो म्यूजिक भिडियोमा देखिन लागेकी छिन्। उनको दोस्रो म्यूजिक भिडियो केही दिनमा रिलिज हुने तयारीमा रहेको छ। साउन १६ गते रिलिज हुने ‘नाइँ भनेसी नाइँ’ बोलको म्यूजिक भिडियो प्रकाश सपुतको कम्पोजिसन तथा निर्देशनमा तयार भएको हो।

यो म्यूजिक भिडियो किन खेलिन् त रेखाले ?

रेखाले प्रकाश सपुतले तीजलाई लक्षित गरेर निकालेको यस गीतको विषयवस्तुका कारण आफू म्यूजिक भिडियोमा देखिन तयार भएकी हुन्। ‘नाइँ भनेसी नाइँ’ बोलको गीतले एउटी बालिका, युवती, महिला र समस्त आमाहरूको आत्मसम्मानको विषय उठाएकोले म यो गीत गर्न तयार भएकी हुँ’, रेखाले भनिन्, ‘विगतमा पनि म समस्त छोरीहरूको सवालमा, उनीहरूको पक्षमा सधैं नै उभिंदै आएकी छु। त्यसका विविध मञ्च तपाईंहरूले देख्दै आउनुभएको छ। यसपटक यो संगीतको मञ्च मलाई उपयुक्त लाग्यो। यतिबेला म नारी मात्र नभएर एउटी छोरीकी आमासमेत भएकाले यो विषयलाई मैले “नाईं” होइन “हुन्छ” भन्नुपर्छ भनेर खेले।’

गायक हुँदै फिल्मका निर्माता, लेखक तथा निर्देशकसमेत बनिसकेका प्रकाश सपुतले गत वर्ष ‘बसन्त’ फिल्मका कारण तीजको छेकोमा गीत निकाल्न नसकेको बताउँदै, यो गीतको कन्सेप्ट तयार हुँदा नै रेखा थापालाई सोचेर बनाइएको बताए। रेखाले म्यूजिक भिडियो नगर्ने सुनेको भए पनि विषयवस्तुका कारण थापाले स्वीकार्ने विश्वास आफूलाई भएकाले प्रस्ताव गरेको प्रकाशको भनाइ छ। ‘दिदीलाई जुन विषय छानिएको छ, त्यसले धेरै छोयो। उहाँसँग जब मैले विषयको कुरा गरें, उहाँले “यसमा फिल्म बनाउन सकिंदैन?” भनेर सोध्नुभएको थियो’, प्रकाशले भने, ‘अहिले फिल्म बनाउनचाहिँ अलि तयारी छैन, “भिडियोमार्फत भनौं, अझ धेरै ठाउँमा पुग्छ” भनेपछि दिदी खेल्न तयार हुनुभयो।’ प्रकाशले यो ‘नो मिन्स नो’ गीतका लागि ५–७ वटा मेलेडी बनाएको जानकारी दिए। गीतमा एलिना चौहान तथा समीक्षा अधिकारीले स्वर दिएका छन् । गीत दर्शक–श्रोताले मन पराउनेमा प्रकाश ढुक्क छन्। उनी ढुक्क रहेको गीतमा उनलाई मनपर्ने चार लाइन यस्ता छन्ः

म त सुन्दरी परीजस्ती हुँ,
म त स्वतन्त्र चरीजस्ती हुँ
चरीलाई जेलैमा थुन्न नखोज
खेलौना ठानेर चुम्न नखोज।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.