Nidan Media

पोखरामा गण्डकी कोटिहोम महायज्ञ २०८२ अब बिरौटामा आयोजना हुने

पोखराको लेकसाइडस्थित बाराहीघाटमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भई अब पोखरा-१७, बिरौटामा सञ्चालन हुने भएको छ।

मानव सेवा फाउण्डेसन नेपालले महायज्ञ सञ्चालन गर्ने भनिएको बाराहीघाट क्षेत्रमा विवाद उत्पन्न भएपछि वैकल्पिक स्थान खोजी गरियो। अन्ततः पोखरा महानगरपालिका-१७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गर्दै आएको गुठीको जग्गा तथा आसपासका स्थानीयको जमिन भाडामा लिएर महायज्ञ सञ्चालन गर्ने निर्णय गरिएको हो।

गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमिपूजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले रोक्न खोजेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि महानगरका मेयर धनराज आचार्यको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकाय प्रमुख, पोखरा महानगरपालिकाका उपप्रमुख, वडाध्यक्ष, कार्यपालिकाका सदस्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत, विश्व हिन्दू महासंघका प्रतिनिधि तथा महायज्ञ आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधिहरूबीच बैठक बसेको थियो।

बैठकले समस्या समाधान समिति गठन गर्दै कोटिहोम महायज्ञका लागि वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार पोखरा महानगरपालिकाले पोखरा-१७ स्थित सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको स्वामित्वमा रहेको जमिन तथा स्थानीयको जमीन भाडामा लिएर महायज्ञ सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो।

पोखरा महानगरपालिकासहित सम्बन्धित निकायहरूले महायज्ञका लागि स्वीकृति प्रदान गरेपछि मानव सेवा फाउण्डेसन नेपाल कास्की परिवार तयारीमा जुटिसकेको छ। आगामी २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुने महायज्ञका लागि व्यापक तयारी भइरहेको छ।

आइतबार महायज्ञ संकल्पकर्ता विजय श्रीकृष्ण मूर्ती सामु महायज्ञस्थल आसपासका आमा समूह, टोल विकास समिति, स्थानीय संघसंस्था लगायतका प्रतिनिधिहरूले ऐक्यबद्धता व्यक्त गर्दै महायज्ञलाई सफल बनाउन प्रतिवद्धता जनाएका छन्।

महायज्ञको स्थान परिवर्तन भए पनि श्रद्धालुहरूको सहभागिता बढ्दै जाने अपेक्षा गरिएको छ। आयोजक समितिका अनुसार धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्व बोकेको यो महायज्ञले धार्मिक एकताको सन्देश दिने विश्वास गरिएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.