Nidan Media

महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व २०८१ का अवसरमा सम्पूर्ण नेपाली तथा हिन्दू धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले भगवान् शिवसँग नेपाल भूमिको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्ध वैदिक ग्रन्थहरूमा वर्णन गरिएको उल्लेख गर्दै पशुपतिनाथ मन्दिर नेपालमा रहनु सम्पूर्ण हिन्दूहरूको लागि गौरवको विषय भएको बताएका छन्।

उनले नेपालभित्रका विभिन्न धार्मिक सम्प्रदायहरूमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर विद्यमान रहेको उल्लेख गर्दै, पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर श्रद्धा गर्ने विश्वभरिका भक्तजनका लागि नेपाल आध्यात्मिक चिन्तनको केन्द्र रहेको बताए।

“वैदिक परम्परामा शिवलाई संहारका शक्ति मानिए पनि, शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्। यसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्ति दुवैलाई प्रतिनिधित्व गर्दछ,” राष्ट्रपति पौडेलले भने।

राष्ट्रपतिले सौम्य शक्तिले मानव चेतनामा असल पक्ष ग्रहण गर्न प्रेरित गर्ने र रौद्र शक्तिले खराब निर्णयबाट उत्पन्न परिणामलाई दण्डित गर्ने धारणा व्यक्त गरे। यसैले मानव जातिले प्रकृतिसँगको सहकार्यद्वारा मात्रै प्रगतिपथ तय गर्नुपर्ने उनले बताए।

उनले महाशिवरात्रि पर्वले सम्पूर्ण नेपालीमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.