Nidan Media

सांसद सोविता गौतम र सुमना श्रेष्ठको गुनासोप्रति सभामुखको चासो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतम र सुमना श्रेष्ठले संसद्मा बोल्ने समय नपाएको भन्दै गुनासो पोखेपछि सभामुख देवराज घिमिरेले यस विषयलाई चासोका साथ लिएको बताएका छन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सोविता गौतमले माघ २८ गते आकस्मिक समय मागेकी थिइन्। उनले माघ २७ गते पारित विधायन सम्बन्धी विधेयकबारे बोल्न चाहेको बताइन्। तर, सभामुखले विधेयक पारित भइसकेपछि त्यो आकस्मिक विषय हुन नसक्ने बताएका थिए।

विधेयक पारित गर्नु अघि नै सभामुखले कानून मन्त्री, उपसभामुख र प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। सोही सहमतिअनुसार विधेयक अघि बढाइएको सभामुख पक्षले जनाएको छ। तर, सांसद गौतमले प्रक्रियागत त्रुटि भएको दाबी गर्दै बोल्न समय मागेकी थिइन्।

यस्तै, सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको समस्याबारे उठाउन आकस्मिक समय मागेकी थिइन्। बैठकको सुरुवातमा जनाउ घण्टी बजिसकेको अवस्थामा सभामुख आफ्नो च्याम्बरबाट बाहिरिँदै गर्दा श्रेष्ठले समय मागेकी थिइन्। सभामुखले तत्काल विषय बुझ्न नसकेको भन्दै प्रमुख सचेतकमार्फत समय लिन सकिने सुझाव दिएका थिए।

सभामुखका सचिवालयका अनुसार आकस्मिक विषय उठाउन उपसभामुखको अध्यक्षतामा रहेका बेला पनि जानकारी गराउन सकिने संसदीय अभ्यास छ। सचिवालयले संसदीय प्रक्रियाभन्दा बाहिर गएर मिडिया र सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गर्न खोजिएको आरोप लगाएको छ।

सभामुख घिमिरेले अबका दिनमा संसदीय अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीका आधारमा काम गरिने बताएका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.