अमेरिकी अर्बपति व्यापारी विवेक रामास्वामी डोनाल्ड ट्रम्प टिमबाट बाहिरिएका छन् । ट्रम्पले खर्बपति व्यापारी एलन मस्कको साथमा रामास्वामीलाई नवगठित सरकारी दक्षता विभाग (डज)को जिम्मेवारी दिएका थिए ।
ट्रम्पले पदभार ग्रहण गरेको केही घण्टापछि नै रामास्वामीले डज छाडेको खबर आएको छ । उनलाई ट्रम्पले हटाएका होइनन्, आफैँले पद त्याग्ने निर्णय गरेका हुन् ।
रामास्वामी ओहायोको गभर्नर पदको लागि आफ्नो उम्मेदवारीको तयारीमा रहेका खबर आएका थिए । डजबाट उनी बाहिरिएसँगै यसको सम्पूर्ण नेतृत्व मस्कको काँधमा पुगेको छ ।
माइक्रोबलगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै रामास्वामीलेले डज छोडेको पुष्टि गरेका छन् । डजको स्थापनामा मद्दत गर्न पाउनु आफ्ना लागि सम्मानको कुरा भएको पोस्टमा उनले उल्लेख गरेका छन् ।
मस्क र उनको टोली सरकारलाई सुव्यवस्थित गर्न सफल हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । आफूले चाँडै नै ओहायोमा आफ्नो भावी योजनाहरूबारे जानकारी शेयर गर्ने अनि सबैभन्दा महत्त्वपूर्ण कुरा आफूहरूले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने ट्रम्पको अभियान सफल पार्न मद्दत गर्ने पनि उनले बताए ।
‘एउटा नयाँ बिहानी ’ क्याप्सनमा रामास्वामीले मस्कसँग खिचाएको आफ्नो फोटो शेयर पनि गरेका थिए।