महोत्तरीको मटिहानी नगरपालिका–४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवार शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् ।
स्थानीय वयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घरपरिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् ।
यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३ सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन् ।
बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबु, बाजे पालादेखि नै सपरिवार खुलामै शौच गर्दै आएको बताए । स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताइन् । यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु उनले प्रतिप्रश्न गरिन् ।
वडाध्यक्ष राईनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबै जनाको एक नासको बस्ने जग्गा समेत छैन । कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर नै जग्गा रहेको कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।
वडाध्यक्ष राईनले शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताए ।
यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकासमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद् भएको सरसफाइविज्ञ उमाशङ्कर यादवले बताए ।