काठमाडौँ। गोरखाको उत्तरी क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो विनाश निम्त्याएको छ। बाढीले गोरखा र धादिङ जोड्ने आरुघाट पुलको एउटा भागसहित विभिन्न स्थानका झोलुङ्गे तथा पक्की पुल बगाएको छ।
बजार र बस्तीमा समेत क्षति पुगेको छ भने बाढीको वास्तविक कारण अझै पुष्टि हुन सकेको छैन।
रसुवा-भोटेकोशी क्षेत्रमा विनाशकारी बाढी आएको डेढ महिनापछि गोरखामा पनि उस्तै भयावह दृश्य देखिएको हो।
उत्तरी गोरखाका स्थानीय बासिन्दाले आफ्नो जीवनकालमै यस्तो बाढी पहिलोपटक देखेको बताएका छन्।
चुमनुब्री गाउँपालिका-३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने झोलुङ्गे पुल, धार्चे गाउँपालिका-५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिकाको सोतीस्थित पुलमा समेत क्षति पुगेको छ।
आकाशबाट पानी नपर्दा पनि नदीमा यति ठूलो बाढी कसरी आयो?
मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विनोद पराजुलीका अनुसार बूढीगण्डकीको माथिल्लो क्षेत्रमा ठूलो वर्षा भएको अभिलेख छैन। त्यसैले वर्षाकै कारण बाढी आएको निष्कर्ष निकाल्न सकिने अवस्था छैन।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने प्रारम्भिक जानकारीका आधारमा उत्तरी क्षेत्रमा हिमपहिरो गएको वा नदीको बहाव अवरुद्ध भएको हुन सक्ने आशंका गरेको छ।
हिउँ, लेदो र अन्य पदार्थ नदीमा मिसिएर एक्कासि ठूलो बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। तर यसको वास्तविक कारण पुष्टि भइसकेको छैन।
चुमनुब्री गाउँपालिका-६ को लोक्पा क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएको र त्यसपछि बाढी आएको स्थानीयबाट जानकारी प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताएका छन्।
यता, बाढीपछि चार जना सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको छ। प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिए पनि हेलिकप्टर अवतरण गर्न नसक्दा उद्धारमा कठिनाइ भएको प्राधिकरणले जनाएको छ।
नेपाल प्रहरीसमेत परिचालन भएर जोखिममा रहेका बस्ती खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
बाढीको प्रभाव गोरखासँगै धादिङ, तनहुँ, मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।





