Skip to main content

Nidan Media

कांग्रेस महामन्त्रीमा पौडेल र अमरसिंह पुन अगाडि, उपसभापतिमा भण्डारीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा महामन्त्री र उपसभापति पदमा अग्रता लिने उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ।

आइतबार बिहान ७ः३० बजेसम्मको मतपरिणामअनुसार खुला महामन्त्रीमा प्रदीप पौडेल र अमरसिंह पुन मगर तथा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य अगाडि छन्।

खुला महामन्त्रीका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा १ हजार २२९ मत गणना हुँदा प्रदीप पौडेलले ७८८ मत प्राप्त गरेका छन्।

अमरसिंह पुन मगर ४७८ मतसहित दोस्रो स्थानमा छन्। अन्य उम्मेदवारमध्ये उदयशमशेर राणाले ४५६, डा. सुनिलकुमार शर्माले ३२५, गुरुराज घिमिरेले १९७ र नैनसिंह महरले १४८ मत प्राप्त गरेका छन्। शङ्कर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत पाएका छन्।

महिला महामन्त्रीको एक पदमा डा. डिला सङ्ग्रौला (पन्त) ले ५८३ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी लक्ष्मी उपाध्याय (डिना) ले ५५७ मत पाएकी छन् भने रीता खनालले १५३ मत प्राप्त गरेकी छन्। सङ्ग्रौला र उपाध्यायबीचको मतान्तर २६ रहेको छ।

खुला उपसभापतिका दुई पदका लागि १ हजार ३३० मत गणना हुँदा डा. चन्द्रकान्त भण्डारी ६७९ मतसहित पहिलो स्थानमा छन्। इन्जिनियर मधु आचार्यले ३९३ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७, दीपक गिरीले २६४, धनराज गुरुङले २४० र प्रा.डा. चन्द्रमोहन यादवले १३८ मत पाएका छन्।

समावेशी उपसभापतिको एक पदमा विनोदकुमार चौधरी ३८२ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी जीवन परियारले ३३० मत प्राप्त गरेका छन्। फरमुल्लाह मन्सुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत पाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कडा सुरक्षा व्यवस्थाबीच मतगणना जारी छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.