काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ ।
कुल सात हजार ३१७ मतदाता रहेकामा अहिलेसम्म करिब ३६ प्रतिशतले मतदान गरेका छन् । मतदानको समय र मतपत्रको सङ्ख्यालाई हेर्दा निर्धारित अवधिमा सबै प्रतिनिधिले मतदान गर्न सक्ने वा नसक्ने विषय महत्त्वपूर्ण बनेको छ ।
निर्वाचन समितिका अनुसार मतदान निर्वाध रूपमा चलिरहेको छ । प्रदेशगत विवरणअनुसार कोशीमा ४१०, सुदूरपश्चिम र कर्णालीमा संयुक्त रूपमा ६०६, लुम्बिनीमा ३८९, गण्डकीमा ३३०, बागमतीमा ४८७ र मधेस प्रदेशमा ४२२ मत खसेको छ ।
सुदूरपश्चिम र कर्णालीको संयुक्त तथ्याङ्कबाहेक अन्य प्रदेशको मत सङ्ख्या छुट्टाछुट्टै सार्वजनिक गरिएको विवरणमा देखिन्छ ।
कांग्रेसको सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ ।
यसअघि सभापतिमा उम्मेद्वारी दिएका किशोरसिंह राठौरले उम्मेद्वारी फिर्ता लिएपछि प्रतिस्पर्धा दुई जनामा सीमित भएको हो ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न पदमा भने प्रतिस्पर्धा छ ।
यसपटक कांग्रेसको नेतृत्व चयनमा मतदान प्रक्रिया आफैँ पनि चुनौतीपूर्ण देखिएको छ । महाधिवेशन प्रतिनिधिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले एक जनालाई मत खसाल्न कम्तीमा आधा घण्टा लाग्ने गरेको छ ।
मतपत्रको सङ्ख्या धेरै हुँदा मतदानको गति अपेक्षाकृत सुस्त हुन सक्ने र प्रतिनिधिले लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ ।
दिउँसो साढे १२ बजेसम्म दुई हजार ६४४ मत खस्दा ४ हजार ६७३ प्रतिनिधिले मतदान गर्न बाँकी छन् । मतदानको समयसीमा र बाँकी मतदाताको सङ्ख्यालाई हेर्दा निर्वाचन व्यवस्थापन समितिका लागि समयमै मतदान सम्पन्न गर्नु प्रमुख चुनौती बनेको छ ।
नयाँ नेतृत्व चयनका लागि भइरहेको यो मतदानले कांग्रेसभित्र नेतृत्वको प्रतिस्पर्धा मात्र होइन, निर्वाचन प्रक्रिया कति सहज र प्रभावकारी रूपमा सञ्चालन हुन्छ भन्ने प्रश्नलाई समेत अगाडि ल्याएको छ ।




