Skip to main content

Nidan Media

यस वर्षको दशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

काठमाडौँ। यस वर्षको विजयादशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना प्रकाशित गर्दै विजयादशमीसहित नवरात्रका विभिन्न धार्मिक अनुष्ठान र साइतबारे जानकारी दिएको हो।

समितिका अनुसार विजयादशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ। त्यसपछि बिहान १०ः२६ बजे टीका लगाउने उत्तम साइत छ। टीका लगाउँदा लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ।

सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे र स्थिरासनको शुभसाइत दिवा ११ः५२ बजे रहेको छ। खड्गयात्रा पनि सोही दिन हुनेछ।

यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ।

उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ। असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत छ भने झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्नेछ।

असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ। असोज ३१ गते शनिबार फूलपाती परेको छ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ। कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि र कार्तिक ३ गते मंगलबार महानवमी मनाइनेछ।

शक्ति आराधना र विजयको पर्व

दशैँ नेपाली समाजको सबैभन्दा ठूलो धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। नवरात्रका नौ दिन शक्तिस्वरूपा देवीका विभिन्न रूपको पूजा-आराधना गर्दै दसौँ दिन विजयादशमी मनाउने परम्परा छ। असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा समेत विजयादशमीलाई लिइन्छ।

दशैँमा घरघरमा घटस्थापना गरी जमरा राख्ने, नवरात्रभर देवीको आराधना गर्ने र विजयादशमीका दिन मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने परम्परा छ। टीका र जमरा आशीर्वाद, समृद्धि, दीर्घायु तथा पारिवारिक एकताको प्रतीकका रूपमा लिइन्छ।

यही कारण दशैँ धार्मिक अनुष्ठानमा मात्र सीमित नरही पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरतासँग जोडिएको पर्वका रूपमा स्थापित छ।

कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ। यससँगै यस वर्षको दशैँका प्रमुख धार्मिक अनुष्ठानहरू क्रमशः सम्पन्न हुनेछन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.