Nidan Media

सरकारलाई ओलीको आग्रह – बल प्रयोग रोक, संवादबाट निकास खोज [वक्तव्य]

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुनसरीको देवानगञ्ज र सिरहामा भएका गोलीकाण्ड तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बल प्रयोग तत्काल रोक्न र संवादमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा सुनसरीको देवानगञ्जमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको र सिरहामा गणेश यादवको गोली लागेर निधन भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ। वक्तव्यमा अन्य नागरिक घाइते भएको घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

एमालेले पछिल्ला दिनमा हिंसात्मक घटना झन् उग्र बन्दै सिरहालगायत विभिन्न स्थानमा थप नागरिकको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

पार्टीले नागरिकलाई भ्रामक प्रचारको पछि नलाग्न, संयम अपनाउन तथा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेको छ। साथै, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई कुनै पनि उक्साहटमा नलागी जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

वक्तव्यमा नागरिकको जीउधनको सुरक्षा गर्नु र संवादमार्फत समस्याको समाधान गर्नु सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता भर्त्सनायोग्य भएको जनाएको छ। एमालेले हिंसात्मक गतिविधि तत्काल रोक्दै वार्ता र संवादबाट निकास खोज्न सरकारलाई आग्रह गरेको छ।

एमालेले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै प्रमुख राजनीतिक दलहरूलाई आरोप-प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्न आह्वान गरेको छ।

वक्तव्यको अन्त्यमा पार्टीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नभएको उल्लेख गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक-सामाजिक अगुवाहरू एकजुट हुन आह्वान गरेको छ।

केपी शर्मा ओलीको वक्तव्य

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.