Nidan Media

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

दाङ। दाङको गढवा गाउँपालिका-५, चिसापानीस्थित लमही-कोइलाबास सडकखण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बुधबार साँझ कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम गरिएको ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु२च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला बोलेरो कपिलवस्तुको शिवराज नगरपालिका-६, पैकिबण्डाका २५ वर्षीय अकवान अहमद मियाले चलाइरहेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दाङको गढवा गाउँपालिका-६, गढवा बजार निवासी २६ वर्षीय सागर कुमाललाई प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम रिफर गरिए पनि उपचारकै क्रममा बुधबार राति करिब ११:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.