Nidan Media

देशभर झण्डै ७० प्रतिशत धान रोपाइँ सकियो, तर प्रमुख उत्पादन क्षेत्रमै देखियो सुस्त प्रगति

काठमाडौँ। देशभर यस वर्षको साउन १ गतेसम्म कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

कृषि विभागका अनुसार कुल १३ लाख ७३ हजार ८६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ९ लाख ५८ हजार ५७४ हेक्टरमा रोपाइँ सकिएको हो।

यद्यपि, गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको गति केही सुस्त देखिएको छ। गत वर्ष साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो। यस आधारमा यस वर्षको रोपाइँ करिब २.३७ प्रतिशतले पछि परेको देखिन्छ।

प्रदेशगत तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेश रोपाइँमा सबैभन्दा अगाडि रहेको छ। त्यहाँ कुल धान खेतीयोग्य क्षेत्रफलको ९०.६७ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ।

लुम्बिनीमा ८०.६५ प्रतिशत, गण्डकीमा ७८.३६ प्रतिशत, बाग्मतीमा ७७.३३ प्रतिशत र कर्णालीमा ७७.०५ प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ।

तर देशकै प्रमुख धान उत्पादन क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा भने रोपाइँको गति अपेक्षाकृत सुस्त देखिएको छ।

सबैभन्दा बढी तीन लाख ८२ हजार ४३३ हेक्टर धान खेती हुने मधेश प्रदेशमा हालसम्म ५७.९३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ। त्यस्तै, कोशी प्रदेशमा ५४.८६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ, जुन सबै प्रदेशमध्ये सबैभन्दा कम हो।

कृषि विभागका अनुसार मनसुनको सक्रियता, पर्याप्त वर्षा र सिँचाइ सुविधाको उपलब्धताका कारण प्रदेशअनुसार रोपाइँको अवस्था फरक-फरक देखिएको हो। विभागले मनसुन थप सक्रिय भएसँगै बाँकी क्षेत्रमा पनि रोपाइँले गति लिने अपेक्षा गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.