पोखरा । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले पहिलोपटक अग्रज पत्रकार सम्मान कार्यक्रम सुरु गर्दै प्रदेशका पाँच जना वरिष्ठ पत्रकारलाई सम्मान गरेको छ।
शनिबार पोखरामा आयोजित ‘गण्डकी मिडिया समिट-२०८३ तथा अग्रज पत्रकार सम्मान समारोह’ मा पोखराका स्वर्गीय केशवराज पराजुली र तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी तथा पर्वतकी सरस्वती शर्मा जिज्ञासुलाई सम्मान गरिएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित पत्रकारलाई जनही ५० हजार रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला प्रदान गरे। तीन दिनअघि ९१ वर्षको उमेरमा निधन भएका स्वर्गीय पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरे।
सोही अवसरमा सम्मानित पत्रकारहरूको जीवन, संघर्ष र योगदान समेटिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सत्य बोल्न र लेख्न कसैले रोक्न नहुने बताए।
सामाजिक सञ्जाल र मूलधारको पत्रकारिताबीचको अन्तर नागरिकलाई स्पष्ट रूपमा बुझाउन आवश्यक रहेको उनको भनाइ थियो। उनले सरकारका कमजोरी औंल्याउन सञ्चारमाध्यमले रचनात्मक भूमिका खेल्नुपर्नेमा पनि जोड दिए।
प्रेस रजिष्ट्रार बिमला भण्डारीले इतिहासलाई जीवित राख्न अग्रज पत्रकारको योगदान अभिलेखीकरण आवश्यक भएकाले सम्मान कार्यक्रम सुरु गरिएको बताइन्।
उनका अनुसार अग्रज पत्रकारहरूको अनुभव, संघर्ष र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखका रूपमा सुरक्षित गर्ने अभियान पनि अघि बढाइएको छ।
सम्मानित पत्रकारको तर्फबाट विश्वबन्धु भण्डारीले सम्मानप्रति आभार व्यक्त गर्दै पत्रकारिता शासक र जनताबीचको विश्वासको सेतु भएको बताए।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अहिले सञ्चार क्षेत्र आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारी विज्ञापन वितरण नीति पुनर्विचार गर्न, पत्रकार स्वास्थ्य बिमाको बजेट वृद्धि गर्न तथा नवीकरण हुन नसकेका सञ्चारमाध्यमलाई एकपटकका लागि विशेष छुटसहित नवीकरणको अवसर दिन सरकारसँग आग्रह गरे।
कार्यक्रममा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। ‘स्वच्छ प्रेस: समुन्नत गण्डकी प्रदेश’ नारासहित आयोजित कार्यक्रममा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआई’ विषयमा दुईवटा छुट्टाछुट्टै सत्रमा गहन छलफलसमेत गरिएको थियो।




