काठमाडौँ। नेपालको समकालीन राजनीतिक इतिहासमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्तो तीव्र उतारचढावबाट गुज्रिएको नेतृत्व विरलै देखिन्छ। एक समय परिवर्तन, विद्रोह र उत्पीडित वर्गको आशाका प्रतीक बनेका उनी अहिले क्रमशः प्रभावहीन बन्दै गएको राजनीतिक पात्रका रूपमा चित्रित हुन थालेका छन्। यो परिवर्तन आकस्मिक होइन, बरु दीर्घकालीन निर्णय, प्राथमिकता र शैलीको परिणाम भएको विश्लेषण गरिएको छ।
प्रचण्डको उदय योजनाबद्ध र वैचारिक थियो। ३५ वर्षकै उमेरमा नेतृत्व सम्हाल्दै उनले ०५२ फागुन १ गते सुरु गरेको सशस्त्र विद्रोहले नेपाललाई गहिरो राजनीतिक बहस र संरचनात्मक परिवर्तनतर्फ धकेल्यो। उक्त द्वन्द्वले राजतन्त्र, केन्द्रीकरण र सामाजिक विभेदविरुद्ध जनचेतना विस्तार ग¥यो। यद्यपि, यस क्रममा ठूलो मानवीय क्षति पनि भयो, जसलाई नजरअन्दाज गर्न सकिँदैन। समग्रमा भने यही आन्दोलनले जनआन्दोलन २०६२÷०६३ हुँदै गणतन्त्र स्थापना गर्ने आधार तयार ग¥यो।
शान्ति प्रक्रियापछि प्रचण्डसँग ऐतिहासिक अवसर थियो-क्रान्तिको ऊर्जा संस्थागत गर्दै दीर्घकालीन परिवर्तनको मार्गचित्र कोर्ने। तर उनले यो अवसरलाई रूपान्तरणको साधनभन्दा सत्तामा पुग्ने माध्यमका रूपमा प्रयोग गरेको आलोचना हुन्छ। यही बिन्दुबाट उनको राजनीतिक ओरालो यात्राको सुरुआत भएको विश्लेषकहरू बताउँछन्।
पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो शक्ति बनेपछि उनले सरकारको नेतृत्व गर्ने अवसर पाए। तर त्यो अवसरलाई नीतिगत रूपान्तरणमा प्रयोग गर्न नसक्दा संविधान निर्माण प्रक्रिया लम्बियो र जनअपेक्षा निराशामा बदलिन थाल्यो। सङ्घीयता, समावेशिता र सामाजिक न्यायजस्ता एजेन्डामा स्पष्टता गुम्दै जाँदा माओवादी आन्दोलनको मौलिकता क्रमशः कमजोर भयो।
राजनीतिक अस्थिरता र गठबन्धनको निरन्तर फेरबदलले प्रचण्डको छवि ‘किङमेकर’ का रूपमा त स्थापित ग¥यो, तर दीर्घकालीन दृष्टिकोण भएको राजनेताको रूपमा उभ्याउन सकेन। कहिले शेरबहादुर देउवा नेतृत्वको कांग्रेससँग, त कहिले केपी शर्मा ओली नेतृत्वको एमालेसँग गठबन्धन गर्दै सत्तामा टिकिरहने रणनीतिले उनको विश्वसनीयतामा क्षय ल्यायो।
शान्ति प्रक्रियापछि सरकारमा पटक–पटक सहभागी भए पनि जनयुद्धकालीन एजेन्डाहरू-भूमिसुधार, आर्थिक समानता र सामाजिक न्याय-व्यवहारमा उतार्न नसक्नु उनको प्रमुख कमजोरीका रूपमा देखिएको छ। यसले जनतासँगको सम्बन्ध कमजोर बनायो। विद्रोहका बेला गाउँ–गाउँमा स्थापित नेतृत्व सत्तामा पुगेपछि राजधानीकेन्द्रित हुँदै गयो, जसले जनविश्वासमा गिरावट ल्यायो।
पार्टीभित्र पनि उनको नेतृत्व शैली आलोचनामुक्त रहेन। निर्णय प्रक्रिया केन्द्रीकृत बन्दै जाँदा वैचारिक बहस र आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप लाग्दै आएको छ। नयाँ पुस्तालाई अवसर दिन नसक्दा पार्टीभित्र ऊर्जा खस्किएको र बाह्य समर्थन घटेको देखिन्छ।
हालैका निर्वाचन परिणामहरूले पनि प्रचण्डको घट्दो प्रभावलाई पुष्टि गरेका छन्। राष्ट्रिय एजेन्डा बोकेको नेतृत्व भए पनि चुनावी मैदानमा उनी एजेन्डाविहीन देखिएको टिप्पणी गरिएको छ। यसले उनको दीर्घकालीन राजनीतिक दिशामाथि प्रश्नचिन्ह खडा गरेको छ।
प्रचण्डको राजनीतिक अवनति बाह्य षड्यन्त्रभन्दा बढी आफ्नै निर्णयहरूको परिणाम हो। तथापि, उनीसँग अझै आत्मसमीक्षा गरेर पुनः उभिने अवसर भने बाँकी रहेको मानिन्छ। त्यसका लागि विगतका कमजोरीको इमानदार मूल्याङ्कन, सत्ताकेन्द्रित सोचबाट रूपान्तरणमुखी एजेन्डातर्फ फर्किने प्रतिबद्धता र जनतासँगको सम्बन्ध पुनःस्थापना अपरिहार्य देखिन्छ।
यसैगरी, पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुदृढ गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने, समावेशी सोच विकास गर्ने र आर्थिक-सामाजिक मुद्दामा ठोस कार्ययोजना लागू गर्ने दिशामा कदम चाल्नुपर्ने सुझाव दिइएको छ।
प्रचण्डले इतिहास बदल्ने अवसर पाएका नेता भए पनि अहिले अधुरो इतिहासका पात्रका रूपमा सीमित हुँदै गएका छन्। अबको बाटो स्पष्ट छ-या त आत्मसमीक्षामार्फत आफ्नो राजनीतिक कद पुनःस्थापित गर्ने, या वर्तमान अवस्थामै इतिहासका पानामा विलीन हुने। निर्णय भने अन्ततः उनकै हातमा रहनेछ।




