पोखरा । कास्की नेत्रहीन संघले २१७औँ लुई जयन्ती एवं विश्व ब्रेल दिवसको अवसर पारेर सस्वर ब्रेल पठन कार्यक्रम गरेको छ ।
दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि आयोजित कार्यक्रममा अमरसिंह माविका नौ र कुँडहर आधारभूत विद्यालयका सात बालबालिका सहभागी थिए ।
कक्षा १ देखि ६ र कक्षा ७ देखि ११ सम्म गरी दुई चरणमा ब्रेल सस्वर पठनको मूल्याङ्कन भएको थियो। जसमा कक्षा १-६ सम्ममा अमरसिंह मावि कक्षा ५ का गगनसिंह तामाङले प्रथम, अमरसिंह मावि कक्षा ५ की विनिशा तामाङले द्वितीय र अमरसिंह मावि कक्षा ५ की अस्मिता विक र कुँडहर आधारभूत विद्यालय कक्षा ३ की अञ्जना गुरुङले तृतीय स्थान हासिल गरे ।
यस्तै, कक्षा ७-११ सम्ममा कक्षा ११ का ऋषि लोहनीले प्रथम, कक्षा १० की गौरी देउवाले द्वितीय र कक्षा ९ की पूर्णीमा गुरुङले तृतीय स्थान प्राप्त गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका अपाङ्ग सञ्जालका संयोजक गंगाबहादुर खड्काले बालबालिकालाई भविष्यमा नेपाल सरकारको उच्च ओहोदामा देख्न चाहेको बताए ।
उनले दृष्टिविहीनहरूलाई उज्यालो संसार देखाउने ब्रेल लिपीका आविष्कारक लुई ब्रेलको सम्झना गरे ।
नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य लक्ष्मण सुवेदीले लुई नभएको भए आफू यो स्थानसम्म आउन नसक्ने बताए ।
कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले नेपालमा ब्रेल लिपी भित्र्याउने जङ्गबहादुर बोगटीको सम्झना गरे ।
दृष्टिविहीनको मातृलिपी ब्रेल लिपीलाई कहिल्यै पनि भूल्न नहुने र यही लिपीका कारण दृष्टिविहीनकोहरूको शिक्षा सम्भव भएको अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रम सञ्चालन सुशील होदार र सुनीता ज्ञवालीले गरेकी थिइन् ।





