Nidan Media

पोखरामा पनि जेनजीको प्रदर्शन [भिडियाे]

पोखरा । जेनजीको प्रदर्शनले संघीय राजधानी काठमाडौँमा तनाव भइरहेका बेला पोखरामा भने जेनजीले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

जेनजीले पोखराको न्यूरोडस्थित सभागृहभित्र आज बिहान १० बजेदेखि नै स्वतस्फूर्त रुपमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकारले हालै गरेको सामाजिक सञ्जाल बन्द र नेताहरुको भ्रष्टाचारसम्मका विषयमा नाराबाजी गरेका छन् ।

पोखराका विभिन्न स्थानबाट आएका युवाहरु सभागृहमा जम्मा भएर सरकार र नेताबिरुद्ध आक्रोश पोखे ।

उनीहरुले ‘जनता जति खाडीमा, तिमी चाहीँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रष्ट नेता होसियार’ जस्ता आधा दर्जन बढी नारा लगाएका थिए ।

केहीले प्रधानमन्त्रीको नामसहित नाराबाजी गरे भने केही युवाले नेताको नाम नलिन आग्रह गर्दै प्रदर्शन शान्तिपूर्ण बनाउने प्रयास गरेका थिए ।

उनीहरुले कर तिरेर नागरिकले दुःख भोगिरहेका तर नेताहरु र तिनका परिवार सुख सयलमा जीवन बिताइरहेको भन्दै आपत्ति जनाए ।

पोखरामा अहिले दिउँसो घाम लागे पनि बिहान ११ बजेसम्म वर्षा भएको थियो । वर्षाको प्रवाह नगरी उनीहरु प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनमा सहभागी युवाले नेपालको झण्डा बोक्नुका साथै पम्लेट वितरणसमेत गरेका छन् ।

भिडियाे

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.