रामेछाप । बागमती प्रदेशसभाका उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले राज्य सत्ता सञ्चालन गर्ने विषय ख्यालख्यालको बिषय नभएको बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई अपराधीलाई उन्मुक्ति दिने हिसाबले ख्यालख्याल नगर्न आग्रह गरे । उनले राज्य सत्ता सञ्चालन गर्ने कुरा कुनै क्लब सञ्चालन गरे जस्तो नभएको बताए ।
भदौ २३ र २४ को घटनालाई एउटै डालोमा हालेर हेर्न नमिल्ने उनले बताए । मेटा कम्पनीको सामाजिक सञ्जाललाई कर तिर, कानूनको दायरामा आउ भन्दा उसको समेत लगानीमा जेनजीका नाममा नेपालमा विध्वंश मच्चाइएको उनले बताए।
‘साम्राज्यवादीको जेनजीलाई प्रयोग गरेर नेपाल ध्वस्त बनाउने योजना अनुसार भदौ २३ र २४ को घटना भयो, राज्यका संरचनासँगै नेपाली लगानीका उद्योग व्यवसायलाई ध्वस्त बनाउने काम भयो’, उनले भने ।
आन्दोलनको बेला नेपाली सेनालगायतका सुरक्षा संयन्त्रको भूमिका समेत निष्क्रिय रहेको बताउँदै श्रेष्ठले त्यसको पनि छानबिन हुनुपर्ने बताए ।
जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने उनको भनाइ छ । श्रेष्ठले जेनजीको नाममा भदौ २३ र २४ गते भएका अपराधको घटनामा संलग्नलाई छाड्न नहुने बताए । ‘जसले जे अपराध गरे पनि जेनजी भन्ने बित्तिकै छाड्ने हो भने समाज कहाँ पुग्छ ? देश के होला ?’, उनले प्रश्न गरे ।
सो घटनाको निष्पक्ष छानबिन गरी कमजोरी पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
उद्योगी व्यवसायीको क्षेत्रमा आएका समस्या समाधानका लागि प्रयास गर्न पनि उनले नेपाल उद्योग तथा व्यवसायी महासंघलाई आग्रह गरे । महासंघले गरेको कामले अरूलाई पनि प्रभाव पार्न सक्नुपर्नेमा उनले जोड दिए ।
अहिलेको असहज परिस्थिति धेरै समय नरहने बताउँदै उनले अहिले जुन हिसाबले गलत व्याख्या गरिएको छ त्यस्तो स्थिति नभएको बताए ।
संगठनको पुनर्गठन भनेको व्यक्ति भन्दा पनि संरचना र काम गर्ने शैलीको पुनर्गठन भएको उनले प्रष्ट पारे ।




