Nidan Media

छिन-छिनमा झ्याप्प-झ्याप्प बत्ति जाने समस्या बुझ्दै मन्त्री घिसिङ

काठमाडौँ । छिनछिनमा झ्याप्प झ्याप्प बत्ति जाने समस्या र नागरिकको गुनासो बढ्दै गएपछि समस्या समाधानका लागि ऊर्जामन्त्री कुलमान घिसिङले सक्रियता बढाएका छन् । उनले सोमबार साँझ नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरे ।

उनले काठमाडौँको स्यूचाटारस्थित केन्द्रको अनुगमन गरी देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रीड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनालगायतका विषयमा जानकारी लिएका थिए ।

सो क्रममा देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन बनाउन आवश्यक नीतिगत एवं प्रविधिक सुधारका विषयमा छलफल गरेका थिए ।

उनले बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनु पर्नेमा जोड दिए ।

उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी, हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे ।

प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही बमोजिम काम भइरहेको बताए ।

दैनिक एक हजार मेगावाट विद्युत निर्यात, साउन यता १५ अर्बको विद्युत निर्यात

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।

त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.