काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले सरकार सञ्चालन वैधानिक तरिकाले र वैध नेतृत्वमार्फत हुनुपर्नेमा जोड दिएका छन् ।
‘हामी नेपाल’ नामक एक एनजीओका सुदन गुरुङले शनिबार राष्ट्रिय विपद प्राधिकरणको बैठकमा सहभागी भएर उच्च सरकारी अधिकारीहरूसँग लिएको ब्रिफिङदेखि तथ्याङ्क मागेको र निर्देशन दिएकोप्रति लक्षित गर्दै उनले संवैधानिक रुपमा सरकार सञ्चालन हुनुपर्नेमा जोड दिए ।
असंवैधानिक शक्ति केन्द्र हावी हुन थाले भने मुलुकको राजनीति धमिलो बन्ने उनको भनाइ छ । अहिले विपद्को नाममा हस्तक्षेप शुरू भए भविष्यमा विकास, अर्थ, परराष्ट्र र सुरक्षाका नाममा पनि प्रभाव बढ्न सक्नेतर्फ उनले सचेत गराए ।
नेता रायमाझीले वर्तमान सरकारले जिम्मेवार र स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिए । सरकारले आफूले तोकेको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने पनि उनले बताए । उनले सरकारलाई निरिह नभई नेपालको सरकार हुँ भन्ने आत्मविश्वासका साथ काम गर्न आग्रह गरे ।
कांग्रेस वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन आवश्यक
नेता रायमाझीले आफूहरुले वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहेको बताएका छन् । उनले यही असोज २६ गतेदेखि बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टीलाई नयाँ ढंगले परिस्कृत गर्ने निर्णय गर्ने जानकारी दिए ।
देश हाल प्रतिकुल र पीडादायी अवस्थामा रहेको बताउँदै उनले नयाँ चुनौतीको समाधान गर्न पार्टीलाई नयाँ उर्जा र उत्साहका साथ अगाडि लैजाने बताए ।
उनले जेन-जी आन्दोलनपछि राजनीतिक, सामाजिक र सुरक्षात्मक अवस्थाले मुलुकलाई गम्भीर संकटतर्फ धकेलिरहेको बताए ।
कठिन अवस्थामा देशको जिम्मेवारी मुख्य राजनीतिक दलको रूपमा नेपाली काँग्रेसकै काँधमा आएको उनको भनाइ छ ।
ऐतिहासिक र प्रजातान्त्रिक पार्टी भएकाले वर्तमान संकटको समाधान कांग्रेसले खोज्न सक्नुपर्ने उनले बताए ।
यो कांग्रेसको दायित्व पनि रहेको भन्दै उनले केन्द्रीय समितिको बैठकमा पार्टीको संगठनात्मक संरचना र नीतिगत दिशाबारे गम्भीर छलफल हुने स्पष्ट पारे ।
बाढी-पहिरोका कारण उत्पन्न विपत्तिप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य रायमाझीले सरकारले विपद्मा गरेको कार्यमा धन्यवाद ज्ञापन गरे ।