काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ठूलाे प्राकृतिक विपत्तिमा सबैको सतर्कताले मानवीय क्षति कम भएको दावी गरेका छन्।
दुई दिनको भारी वर्षापछि भएको घटनाको बारेमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताेे दावी गरेका हुन् ।
बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको भन्दै उनले त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माण गर्ने जानकारी दिए ।
अब बन्द रहेका सडक खुलाउने तयारीमा सरकार रहेकाे उनले बताए।
मन्त्रालयले घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
सावधानी अपनाउन आग्रह
यता, असोज १७, १८ र १९ गते देशभर भएको अविरल वर्षा र त्यसपछिका पहिरो तथा बाढीका घटनाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएकाले यसले यातायात सेवा प्रभावित पारिरहेको जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार वर्षा र पहिरोका कारण देशका प्रमुख तथा सहायक सडक बन्द हुँदा जनजीवन प्रभावित भएको छ । साथै, जोखिमयुक्त स्थानमा यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ ।
सडक विभागले प्रमुख अवरुद्ध सडक खोल्नका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको जनाएको छ। केही प्रमुख राजमार्ग खुलाउने कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ ।
विशेषगरी, नारायणघाट-मुग्लिन सडक खण्डमा सवारीसाधनको एकतर्फी सञ्चालन शुरू गरिएको छ भने अन्य सडकमा पनि अवरुद्ध स्थान हटाइरहेको छ ।
यस्तै, पोखरा-मुग्लिन तथा भुलभुले-बेसीशहर सडकखण्ड पनि सञ्चालन गर्न आवश्यक कार्य भइरहेको छ ।
सडक विभाग स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी लगायत स्थानीय निकायसँग समन्वय गरी सडक सञ्चालन गर्ने कार्यमा खटिएको छ ।