Nidan Media

‘अभिमन्यू : च्याप्टर १’ कात्तिक २१ गतेबाट प्रदर्शन

काठमाडौँ । चलचित्र ‘अभिमन्यूः च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो ।

यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाँझ आउने भएको छ ।

चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिए।

दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ । उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षासमेत गरेका छन् ।

‘अभिमन्यूः च्याप्टर १’ नेपाली दर्शकका लागिमात्र नभई विश्वभरका दर्शकका लागि लक्षित छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका चलचित्रमा घरमा प्रदर्शन गरिनेछ ।

यसका साथै भारत र विश्वका विभिन्न देशमासमेत कार्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । यसले चलचित्रलाई बृहत् दर्शकमाझ पुर्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यू: च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललगायत कलाकार मुख्य भूमिकामा छन् ।

चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन छ ।

‘अभिमन्यूः च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रकाे कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । चलचित्रको लाइन प्रोड्युसरमा जीवन शाक्य छन् ।

शरद महतोको डीओपी रहेको चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेले सम्पादन गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.