पाेखरा । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका वडा नं ८ की २८ वर्षीया मनिषा कार्की, ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ५ की २९ वर्षीया युना तामाङ, ३३ वर्षीय धनकुमार चोङबाङ र ३२ वर्षीय अभिषेक लिम्बू, मेरिङदेन गाउँपालिका वडा नं २ का ३३ वर्षीय विनोद लङ्वा लिम्बू र मेरिङदेन गाउँपालिका वडा नं ४ का २१ वर्षीया गीता हाङगाम छन् ।
यसैगरी घाइतेमा मेरिङदेन वडा नं ५ का २२ वर्षीय महेश लिम्बू र २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला गाउँपालिका वडा नं ४ का २५ वर्षीया मनु साँवा लिम्बू, सोही स्थानका सन्तोष लिम्बूका सात वर्षीय छोरा अनिश लिम्बू र ३० वर्षीय संजोहाङ लिम्बू तथा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ७ का ३५ वर्षीय महेश गुरागाइँ रहेका छन् । उनीहरूकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकाेप्टरमार्फत उद्दार गरी धरान ल्याइएकाे हाे ।
जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो ।
बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ ।