काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दशैँ सकिएपछि बल्ल आन्तरिक हवाई उडानको अधिकतम् भाडादर सार्वजनिक गरेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै आन्तरिक उडानको भडादर सार्वजनिक गरेको हो ।
दशैँको मुखमा मुख्य राजमार्ग पहिरोका कारण बन्द भएको अवस्थामा हवाई कम्पनीको मनोमानी चल्दा मौन बसेको क्यानले विजयादशमीको दिनमा बल्ल भाडादर सार्वजनिक गरेको हो ।
हवाई यात्रा गर्दा टिकट नै नपाउने र टिकट पाइहाले पनि साविकको भन्दा ६८ प्रतिशतसम्म महंगोमा किन्न सर्वसाधारण बाध्य भएका थिए । यसप्रति सर्वसाधारणले क्यान र सरकारकाे चर्काे आलाेचना गरेका थिए ।
दशैँ, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्ने भन्दै क्यानले देशभित्रका विभिन्न स्थानको अधिकतम भाडादर सार्वजनिक गरेको जनाएको छ ।
जसअनुसार सबैभन्दा धेरै भाडा काठमाडौँ-धनगढी १७ हजार पाँच सय ७९ र सबैभन्दा कम भाडा काठमाडौँ-सिमराको भाडा तीन हजार ९ नौ सय ७८ रुपैयाँ छ ।
यसैगरी काठमाडौँदेखि पोखराको हवाई भाडा दर छ हजार छ सय ३५ रुपैयाँ, जनकपुर पाँच हजार चार सय ७०, भरतपुर चार हजार छ सय ४३, विराटनगर नौ हजार सात सय ८५, नेपालगञ्ज १३ हजार एक सय तीन, भैरहवा आठ हजार चार सय ६१, राजविराज आठ हजार दुई सय १०, सुर्खेत नौ हजार ३० र तुम्लिङटार सात हजार छ सय ३० रुपैयाँ कायम गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम् भाडादरभन्दा बढी रकम यात्रुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालालाई निर्देशन दिएको छ । तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी क्यानले दिएको छ ।
यस्तो छ प्राधिकरणको सूचना