मुस्ताङ । धार्मिक तीर्थस्थल मुक्तिनाथ धाममा सञ्चालित छ महिने लामाे महायज्ञ विधिवत रूपमा बिहीबार सकिएको छ । मुक्तिनाथ मन्दिरका पिठाधीश जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा विशेष पूजापाठसहित महायज्ञ समापन गरिएको हो ।
कालीगण्डकीको शालिग्राम र मुक्तिनाथको प्रचार-प्रसार गर्ने, धार्मिक आस्थालाई एकआपसमा जोड्ने र विश्वशान्तिको कामना गर्दै गत चैतको रामनवमीदेखि मुक्तिनाथमा महायज्ञ शुरू भएको थियो ।
कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रासहित शुरू भएको महायज्ञ बिहीबार समापन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनःमुक्तिनाथधामबाट रथयात्रा शुरू भई त्रिवेणीस्थित गजेन्द्र मोक्षधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम छ ।