Nidan Media

देशभर भारी वर्षा र आकस्मिक बाढीको ‘रेड अलर्ट’

पाेखरा। जल तथा मौसम विज्ञान विभागले असाेज १८ देखि २० गतेसम्म देशभर भारी वर्षा र आकस्मिक बाढीको ‘रेड अलर्ट’ जारी गर्दै यी तीन दिनमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणालीका कारण नेपालमा मनसुनी गतिविधि थप सक्रिय हुने सम्भावना रहेकाे विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागका अनुसार, उक्त न्यून चापीय प्रणाली भारतको ओडिसा हुँदै मध्यभारततर्फ सरिरहेको छ र यसको प्रभावले असोज १७ गतेदेखि २० गतेसम्म नेपालमा मनसुनी वायु प्रवेश गर्नेछ।

मनसुनी वायुकाे प्रभावले विशेषगरी गण्डकीसहित कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेश भारी वर्षाकाे चपेटामा पर्ने अनुमान गरिएकाे छ ।

बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लाका ससाना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ।

हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीको बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।

साथै, गण्डकी, कोशी, बागमती, लुम्बिनी र मधेस प्रदेशका महाभारत र चुरे क्षेत्र भई बहने ससाना नदीनालामा पनि आकस्मिक बहाव हुन सक्ने सम्भावना छ।

नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा विभागले मौसम र बाढीको सम्भावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ।

विभागले वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

उल्लेखित पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सम्भावित क्षति न्यूनीकरणका लागि विभागले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकाय र आमसर्वसाधारणलाई पूर्वतयारी र आवश्यक पूर्वकार्यमा जुट्न अपिल गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.