Nidan Media

काठमाडौँ आउँदै गरेकाे बसले दुई मोटरसाइकललाई किच्दा दुईको मृत्यु, चार जना गम्भीर

पोखरा । बारामा बुधबार बिहान बसको ठक्करबाट दुई मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ स्थित चुरियामाई मन्दिर नजिकै पथलैया-हेटौंडा सडकखण्डको उकालोमा जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा सोही दिशामा पछाडिबाट आउँदै गरेको ना१२ प ३३६० र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकललाई किचेको थियो ।

मृत्यु हुनेमा ना१२ प ३३६० नम्बरको मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका वडा नं १ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षीया कविता देवी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतक पटेलकी श्रीमती २२ वर्षीया कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । उनीहरूको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सोही दुर्घटनामा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं ३१ का मृतक देवीका श्रीमान् २७ वर्षीय कञ्चनकुमार पटेल र तीन वर्षीय छोरा आयुष पटेलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि भागेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.