Nidan Media

दशैँ अवधिभर मनसुनी प्रभाव: असोज १७ गतेबाट भारी वर्षाको चेतावनी

पाेखरा। जल तथा मौसम विज्ञान विभागले असोज १७ गते (एकादशी) बाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सम्भावित वर्षा र त्यसबाट हुने क्षतिबाट जोगिन आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। विभागले मङ्गलबार राति दोस्रो दशैँ विशेष मौसम बुलेटिन जारी गर्दै आगामी दिनको मौसमबारे पूर्वानुमान सार्वजनिक गरेको हो।

विभागकी मौसमविद् विनु महर्जनका अनुसार, हाल नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओडिसा हुँदै मध्य भारततर्फ सरिरहेको छ। यो प्रणाली असोज १७ गते नेपाल प्रवेश गर्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ।

न्यून चापिय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ गतेबाट देशका खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना छ। यसकारण, यस वर्षको दशैँ अवधिभर नेपालमा मनसुनी वायुको प्रभाव रहिरहने विभागले बताएको छ।

असोज १७ गते (एकादशी) का दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, यी चारवटै प्रदेशका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना छ।

असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस दिन यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

असोज १९ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अतिभारी वर्षा को समेत सम्भावना रहेको विभागले जनाएको छ।

दशैँको अन्त्यमा मनसुन सक्रिय हुने सम्भावना रहेकाले सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो का साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने देखिएको छ। त्यसैले, विभागले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.