बडादशैँ
युगमा मैसासुर नामको दानवले देवलोकमा देवता र पृथ्वी लोकमा रहेका निर्दोष सम्पूर्ण जीवजन्तलगायतलाई दुःख दिएपछि नवदुर्गा भवानी माताले १० दिनको घोर युद्धपश्चात् उक्त दानवको संंहार गरेको दिन उत्सवको रूपमा मनाइने यस पर्वलाई नवरात्र अर्थात् विजयादशमी पनि भनिन्छ । विशेषगरी दशैँका १० दिन विशेष पूजा-आराधना गरी मनाइन्छ । दशैँमा हिन्दू धर्मकी शक्तिस्वरूपा देवी दुर्गाको नौ वटा रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्रीको विशेष पूजा तथा आराधना गरिन्छ ।
नवदुर्गा भवानीका यी नवरूपको आश्विनशुक्लपक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक, एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ । १०औँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुशियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनबाट रातो टीका र जमरा लगाएर र आशीर्वाद थापेर मनाइन्छ । दशैँ प्रतिपदा अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र १०औँ दिनलाई दशैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।
प्रतिपदा वा घटस्थापना, सप्तमी वा फूलपाती, महाअष्टमी वा कालरात्रि, महानवमी, विजयादशमी र पूर्णिमा वा कोजाग्रत दशैँका प्रमुख तिथि हुन् । आश्विनशुक्ल प्रतिपदा अर्थात् घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीको पूजा गरिन्छ । विजयादशमीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप घरको ज्येष्ठ सदस्यको हातबाट रातो टीका लगाएर आशीर्वाद थाप्ने र जमरा लगाउने चलन छ । यो प्रसाद कोजाग्रत पूर्णिमाको दिनसम्म जारी रहन्छ । यस खुसीको अवसरमा टाढा रहेका आफन्त आउन समय लाग्ने हुनाले पूर्णिमासम्म टीका थाप्ने गरेको पाइन्छ । हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैँको उत्सव अर्थात पर्व शुरू भएको बुझाइ छ ।
दशैँमा आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँनयाँ कपडा लगाउने, आफ्नो क्षमताअनुसार मीठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफा राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यसो गरेमा वर्ष भरिनै सुख प्राप्ति हुने, दैविक शक्ति प्राप्त भई कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख छ । दशैँ वर्षका अत्यन्त शुभ तिथिमा पर्दछ । शास्त्रका अनुसार एक वर्षमा तीन शुभ तिथि रहने त्यसमा आश्विन महिनाको शुक्लपक्षको प्रतिपदा तिथि जसलाई घटस्थापना भनिन्छ, चैत्रशुक्लपक्षको प्रतिपदा र कार्तिकशुक्लको प्रतिपदा तिथि पर्दछन् । यी दिनमा हिन्दूहरू नयाँ कार्य शुरू गरे कार्य सिद्धी हुने जनविश्वास छ ।
बडादशैँमा मालसिरी वा मालश्री मंगल धून बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । यस पर्वले देश, विदेश वा टाढाटाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने सुनौलो अवसर जुटाइदिन्छ । दशैँमा खुसी हुने रमाउने र खुसी साट्न विभिन्न खेल (तास, पिङ, चङ्गा) लगायत खेल्ने गरिन्छ । दशैँमा गरिने सम्पूर्ण क्रियाकलापको आफ्नै विशेषता र आआफ्नै महत्त्व रहेको भए पनि यी सबैको उद्देश्य खुसी र सुख प्रदान गर्नु रहेको छ । दशैँमा लगाइने रातो टीका, जमरा, आशीर्वाद र दक्षिणालाई विशेष रूपमा लिएको पाइन्छ । यो दशैँको अनिवार्य रीत पनि हो ।
विजयादशमीको टीका
दशैँमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टीका थापिन्छ । यसरी मान्यजनले आशिष दिँदै लगाइदिने टीकाको पनि निकै अर्थपूर्ण महत्त्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । टीका विनयको प्रतिक पनि हो । रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । जितको आभाष दिलाउँछ भन्ने मान्यता र विश्वास पनि छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि सङ्केत गर्छ । टीका जसलाई अक्षता पनि भनिन्छ । गाईको दूधको दही, चिनी, पिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुवै आँखीभौँको माँझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात् तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ । यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धि, स्वास्थ्य सबै कुराले सर्व सम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेर आज्ञा गरेको सङ्केत गरेको बुझिन्छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टीका शान्ति एवं समृद्धिका प्रतीक हुन् भनिन्छ । यसले मस्तिष्क, मन र विचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने विश्वास गरिन्छ । आफ्नो घरमा टीका लगाएर आफन्तजनकोमा पनि टीका ग्रहण गर्ने चलन छ । टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ ।
विजयादशमी २०८२ का उत्तम साइत
बडादशैँको मुख्य दिन विजयादशमी पर्व हो । यस दिन मान्यजन अर्थात आफूभन्दा ठूला व्यक्तिका हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाउने, आफ्नो गच्छेअनुसार दक्षिणा लिने र आशीर्वाद ग्रहण गर्ने गरिन्छ । विजयादशमीको दिन बिहान नवदुर्गाको पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ । किंवदन्ती अनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए । सत्यले असत्यमाथि विजय प्राप्त गरेका दिन भएकाले यस दिनलाई विजयादशमी भनिएको हो ।
यसवर्ष अर्थात २०८२ साल असोज १६ गते बिहीबारका दिन दशैँको सबैभन्दा महत्वपूर्ण दिन विजयादशमी पर्व परेको छ । यस दिन विजयादशमीको टीकाको सबैभन्दा उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । यो कुरा पञ्चांग पात्रोमा पनि उल्लेख छ भने नेपाल पञ्चांग निर्णायक समितिले पनि स्पष्ट पारिसकेको छ । यस दिन देवी विसर्जन गर्ने समय बिहान ९ः२३ बजे, तुलजा भवानी यात्रा मध्यान्ह १२ः१९ र स्थिरासन दिनमा १ः१७ बजे खड्गजात्रा रहेको छ ।
आपतकालीन अवस्थामा देवी विसर्जनलगत्तै टीका ग्रहण गर्न सकिन्छ । तर सकेसम्म टीका उपयुक्त साइतमा लगाउन सके अतिउत्तम । साइतमा सम्भव नभए त्यसपछिका जुनसुकै समयमा पनि टीका लगाउन सकिन्छ । राज्य सञ्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने प्रचलन छ । अन्य सर्वसाधारणले पनि त्यसपछि दिनभर तथा कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्छन् । राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा उत्साह र शक्ति प्राप्त हुने शास्त्रीय मान्यता छ । साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुने पनि शास्त्रले बताउँछ । घटस्थापनाका दिन दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ ।
यसमा अर्को महत्त्वपूर्ण कुरा पनि छ । टीकाको दिन बिहीबार परेको छ, जसले गर्दा दक्षिण दिशा त्यति शुभ मानिँदैन । यस दिन टीका लगाइमाग्ने अर्थात टीका ग्रहण गर्नेको मुहार पश्चिम र टीका लगाइदिनेको मुहार पूर्व फर्कनुपर्ने हुन्छ । दक्षिण र उत्तर सकभर नफर्किँदा नै राम्रो हुन्छ । टीका लगाइदिने व्यक्तिले पुरुष र महिलाका लागि छुट्टाछुट्टै विशेष प्रकारको मन्त्र उच्चारण गरेर टीका लगाइदिएमा निकै राम्राे । यदि मन्त्र सम्भव नभए पनि आशिर्वाद दिन सकिनेछ । साथै टीका लगाइदिने व्यक्तिले टीका लगाइदिएपछि धेरै वा थोरै दक्षिणा अनिवार्य दिनुपर्नेछ । यदि दक्षिण नलिने व्यक्ति हुनुहुन्छ भने फलहार (स्याउ, केरा इत्यादि) दिन आवश्यक छ । अर्को कुरा पनि के छ भने टीका थाप्ने अर्थात ग्रहण गर्ने व्यक्ति जुन घरमा टीका लगाएको हो त्यही घरमा खाना खाएर मात्रै निस्कनुपर्छ । यदि खाना खान सम्भव छैन भने केही न केही खाएर मुख बिटुलो बनाउनुपर्ने मान्यता छ । यदि यसो गरिएन भने देवी प्रशन्न हुँदिनन् भन्ने छ ।
ठूलाबडाका आशीर्वाद
आशिष् अर्थात् आशीर्वाद । आफ्नो उन्नति, प्रगति, दीर्घायूका लागि मान्यजनले राख्ने सदिच्छालाई नै आशीर्वाद भनिन्छ । दशैँमा अक्सर आफूभन्दा ठूला, मान्यजनबाट टीका लगाएर आशीर्वाद दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सङ्केत गर्छ । मान्यजनले दिने आशिष् हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो ।
दशैँमा टीका लगाउँदा पुरुषलाई दिने आशिषः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।
ससर्ती सुन्दा यसको अर्थ केलाउन सकिँदैन । तर, चार हरफको यो श्लोकले हामीलाई सही ढंगको जीवन बाच्नका लागि उपयुक्त मार्ग देखाइदिन्छ । विभिन्न पौराणिक पात्रको विशेषता उल्लेख गर्दै त्यस्तै कुरा प्राप्त गर्न सदिच्छा यसमा राखिएको छ ।
यसको अर्थ यस प्रकार छ: द्रोण पुत्र अस्वत्थामाको जस्तो लामो आयु अर्थात् दीर्घायु हुनु । दशरथ राजाको जस्तो धन सम्पति होस् । भगवान् रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशीलता होस् । दुर्योधनको जस्तो मान होस् । सूर्य पुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यवादीता हुनु । विदुरको जस्तो ज्ञान होस् । भगवान् नारायणको जस्तो कृति वा प्रसिद्धि होस् । भन्दै मान्यजनबाट आशीर्वाद लिइन्छ ।
महिलालाई दिइने आशिषः
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
यसको अर्थ यस्तो छ: जयन्ती देवीको जस्तै महेश्वरीको रूप र विजयशलीनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र, मुक्ति देवीको रूपमा प्रसिद्धि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु । भद्रकालीको जस्तै भद्र, खुसी, मंगल हुनु । पालिकनी देवीको जस्तो दुश्मनका लागि भयानक हुनु ।
दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु । क्षमाकी देवीले जस्तै क्षमा दिनु । शिव, देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान् हुनु । धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु । स्वाहा देवीले जस्तै हरेक यज्ञ र दान पुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दान पुण्य को सङ्कल्प लिनु ।
जमराको महत्त्व
दशैँमा टीका लगाइसकेपछि र फूलको रूपमा जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौ, मकैको जमरा टीका थाप्नेको टोपी भित्र, टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिँदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । संस्कृतमा यव भनिने जौको जमरा खासमा भन्ने हो भने पौष्टिक खाद्य पदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधि मानिन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन र भिटामिनहरू पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यवर्द्धक मानिन्छ ।
वैदिक ग्रन्थमा जौलाई रोग हटाउने उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ । पौराणिक ग्रन्थमा पनि यवोसि धान्यवश भनेर जौलाई अन्नको राजा मानिएको छ । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्बुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्ययता समेत निखार ल्याउँछ । यसै गरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्ति सञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।
हाम्रा गाउँघरमा अझै पनि दशैँको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकले गरेको अनुसन्धानअनुसार अङ्कुरित जौ सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । भारतीय चिकित्सकहरूले पनि जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अङ्कुरित जौलाई साङ्केतिक रूपमा विजयादशमीको प्रसादका रूपमा ग्रहण गरिन्छ ।
दक्षिणाको महत्त्व
दशैँमा टीका थाप्न आएका छोरी चेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन वा द्रव्य नै दक्षिणा हो । बिजयादशमीको दिन आआफ्नो गच्छअनुसार मान्यजनबाट टीका लगाइसकेपछि दक्षिणा दिने गरिन्छ । सुख, शान्ति, शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्र्याउनु हो भन्ने आम विश्वास छ र त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।
वास्तवमा वैदिक काल साधना, सिद्धि, सामर्थ्य, शक्ति र सौर्यताको संगम को काल थियो । त्यहीँबाट दशैँको शुरूवात भयो । बडादशैँ सनातन परम्परा, संस्कार (संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको विषयमात्र नभएर यसको वैज्ञानिक महत्त्वको विषय पनि रहेको पुष्टि भएको छ । यो समाज विज्ञान, मनोविज्ञान र व्यवहार विज्ञानसँग निकट छ । दशैँमा टीका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यता पनि लुकेका छन् । यिनीहरूको विशिष्ट अर्थ र महत्त्व पनि छ ।
अन्त्यमा दशैँको प्रतिपदाका दिन जमरा राखिएको माटो वा बालुवालाई तीन थुप्रा राखी बिचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरूलाई आरती र पुष्पाञ्जली गर्ने गरिन्छ । यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ ।