पोखरा । वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा पनि नेपालले शानदार जीत हासिल गरेको छ ।
सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । योसँगै नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृङ्खला एक खेल अगावै जितेको छ ।
नेपालले नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमै अलआउट भयो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाउनबाहेक अन्य खेलाडी चल्नै सकेनन् ।
नेपालका आदिल आलम एक्लैले चार ओभरमा २४ रन दिएर चार विकेट लिए भने कुशल भुर्तेलले तीन तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आशिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । शेखले ४७ बलमा अविजित ६८ रन र जोराले ३९ बलमा ६३ रनको योगदान दिए ।
नेपालको ४३ रन हुँदा तीन तीन विकेग गमेको अवस्थामा आशिफ र जोरा मिलेर चौथो विकेटका लागि सय रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले चार ओभरमा २१ रन दिएर दुई, काइल मेयर्सले दुई ओभरमा २६ रन दिएर दुई तथा जेदिया ब्लेड्सले एक विकेट लिए ।