Nidan Media

विश्व कीर्तिमानी उत्प्रेमको स्वरमा रुपिन्द्रको बालगीत सार्वजनिक [भिडियाे]

पोखरा । गीतकार रुपिन्द्र प्रभावीको बाल विकास खोज्न… बोलको बालगीत विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेम जोजिजूले गाएका छन् ।

जोजिजू म्युजिक सेन्टर, रानीपौवाको आयोजनामा आइतवार पोखरामा भएको जोजिजू म्युजिकल जर्नी कार्यक्रम २०८२ मा सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

सरुभक्तले गायक/गायिकाले आफ्नो गायन प्रस्तुत गर्दा कहिल्यै पनि गीतकार र सङ्गीतकारलाई नबिर्सन आग्रह गरे । ‘गीतकारले गीत लेखेपछि र सङ्गीतकारले सङ्गीत भरेपछि मात्र गायक/गायिकाले गीत गाउने हो’ उनले भने, ‘त्यसैले गीतका जननी भनेका गीतकार हुन्, जननी बिर्सेर आफ्नो प्रस्तुति पूर्ण हुन्छ भन्ने भ्रमबाट कलाकारहरू मुक्त हुनुपर्छ ।’ उनले गीत सङ्गीतका क्षेत्रमा जोजिजू परिवारले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

दुई वर्षको उमेरमा सार्वजनिक रूपमा ड्रमसेट बजाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका पोखराका प्रतिभा उत्प्रेमले सो अवसरमा आफ्नो प्रस्तुति राखेका थिए । गीतमा सन्तोष प्रधानको सङ्गीत रहेको छ भने सङ्गीत संयोजन गोविन्द थापाले गरेका हुन् । सुवास अम्गाईँको सम्पादन, सन्देश प्रजापतिको छायाङ्कन र विनित जोजिजूको निर्देशनमा भिडियो तयार भएको हो ।

म्युजिक भिडियोको समीक्षा गर्दै गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीले उत्प्रेमले विश्व रेकर्ड राखेर समग्र पोखरेली साङ्गीतिक क्षेत्रको गौरव विश्वभर पुर्‍याएको बताए । गीत कसैलाई हेर्नुस्, सुन्नुस् भनेर मात्र नहुने बरु सामग्री नै स्तरीय हुनुपर्नेमा उनको जोड थियो ।

‍विजयादशमी, शुभ दीपावली तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा आयोजना गरिएको कार्यक्रममा ग्लोबल कलिजियट स्कुलका प्राचार्यसमेत रहेका हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, गीतकार रुपिन्द्र प्रभावीले बोलेका थिए ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक विनित जोजिजूको अध्यक्षतामा भएको कार्यक्रममा  स्वागत संस्थाका व्यवस्थापक सानू जोजिजूले र कार्यक्रम सञ्चालन सुरेनकुमार सुशीलले गरेका थिए । २२ वर्षअगाडि स्थापना भएको सेन्टरले हरेक वर्ष घटस्थापनाको छेको पारेर म्युजिकल जर्नी कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

भिडियाे

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.