Nidan Media

अचाक्ली महंगियो हवाई टिकट, न्यूनतम् दरभन्दा ६८ प्रतिशतसम्म वृद्धि

काठमाडाैँ । दशैँको समयमा हवाई टिकटको मूल्य अचाक्ली बढेको सर्वसाधारण यात्रुहरूले गुनासो गरेका छन् । प्राकृतिक विपत्तिमा मुख्य राजमार्ग अवरोध भएको अवस्थाको मौका छोपेर हवाई कम्पनीले ५० देखि ६८ प्रतिशतसम्म टिकको मूल्य वृद्धि गरेपछि सर्वसाधारण यात्रुले यस्ता गुनासो गरेका हुन् ।

दशैँको अवसरमा काठमाडौँ-धनगढी उडानको टिकट मूल्य सात हजार पाँच सय रुपैयाँबाट बढेर १७ हजार रुपैयाँसम्म पुगेको छ भने काठमाडौँबाट पोखरा हवाई टिकटको मूल्य १० देखि १५ हजार रुपैयाँसम्म पुगेको छ ।

काठमाडौँबाट नेपालगञ्जसम्मको यात्रा गर्दै गरेका उमेश पौडेल अन्य समयमा पाँच हजार रुपैयाँ टिकट किनेर यात्रा गर्ने गरिएको भए पनि दशैँमा १३ हजार एक सय रुपैयाँ परेको बताउँछन् । देशका विभिन्न सडकमार्ग अवरुद्ध हुँदा बाध्यताले हवाई यात्रा गर्नु परेको उनको भनाइ छ ।

चर्को मूल्यमा टिकट लिन पनि समस्या भएको भन्दै जसोतसो गरी ट्राभल एजेन्सीको सहयोगबाट आफूले टिकट पाएको दुःखेसो पोखे ।

उनले भने, ‘मैले टिकट एउटा ट्राभल एजेन्सीबाट फोनको भरमा पाएको हो । कसरी मिल्यो मलाई पनि थाहा छैन । मैले जसोतसो गरेर पाए । यसका लागि निकै समस्या भोग्नुपर्यो । तीन चार दिन लागेर टिकटको मूल्यमा पहिले र अहिलेमा लगभग सात हजारको दरले फरक पर्यो ।’

उनले भने, ‘भर्खरै मेरी श्रीमती नेपालगञ्जबाट आउनु भएको थियो । आउँदा पाँच हजार पाँच सयमा टिकट पाइएको थियो । जाँदा चाहीँ १३ हजार एक सयको टिकट किनेर जाँदैछु । सरकारले अनुरोध गरेको कार्यान्वयन भएको छैन । त्यो भएको भए यस्तो हुँदैनथ्यो ।’

‘सरकारले सबैभन्दा पहिले बाटोको पहिरो पन्छाए अलि सजिलो हुने थियो कि । त्यसले पनि प्लेन टिकटको दर अलि कम हुने थियो । सायद सडकखण्ड अवरुद्ध भएर यता मानिस को चाप यतातिर भएर सबैजना हवाई मार्ग रोजे त्यसैले सबै टिकटको मूल्य बढ्यो । यहाँ जसले पैसा तिर्न सक्यो उसले पायो, नपाउने अझै पनि बसपार्कमा कुरिरहेका छन्,’ उनले भने ।

नेपालका प्रमुख एयरलाइन्स कम्पनीले इन्धनको मूल्य वृद्धि र चाडपर्वका कारण देखाउँलै टिकटको मूल्य दर बढाउने गरेका छन् ।

एयरलाइन्स कम्पनीले दशैँको समयमा यात्रुको उच्च मागलाई मध्यनजर गर्दै हवाई टिकटको मूल्यमा ५० देखि ६८ प्रतिशतसम्म वृद्धि गरेका छन् ।

हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ तर त्यसको पालना नहुँदा बर्सेनि यात्रु मारमा परेका छन् । यसले विशेषगरी विद्यार्थी, कर्मचारी र कम आय भएका यात्रुलाई मर्का पुगेको यात्रु बताउँछन् ।

यता, नेपाल नागरिक उड्डयन प्राधिकरण दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको भए पनि त्यो कार्यान्वयन भएको छैन् ।

सरकारले तोकेको अधिकतम् मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुलाई राहत दिन सबै पक्षलाई अनुरोध गरिएको भए पनि रोकिने छाँट छैन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.