Nidan Media

जेन-जी आन्दोलनको विध्वंसले हजारौँ विद्यार्थी शिक्षण सिकाईबाट बञ्चितः न्यौपाने

पोखरा । नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जेन-जी आन्दोलनको क्रममा भएको विध्वंसले हजारौँ विद्यार्थी शिक्षण सिकाईबाट बञ्चित भएको बताएका छन् । नेशनल प्याब्सन कास्कीको २७औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाल सरकारले नै शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा घोषण गरेको छ, जहाँ राजनीतिक हिसाब या अरू कुनै पनि तवरले विद्यालयमाथि प्रहार हुनु हुँदैन । तर यो आन्दोलनका क्रममा भएको विध्वंसले विद्यालय पनि अछुतो रहन सकेन’, अध्यक्ष न्यौपानेले भने, ‘विद्यालयको क्षतिबाट हजारौँ विद्यार्थी शिक्षण सिकाइबाट वञ्चित भएका छन् यसको हामी घोर भत्र्सना गर्दछौँ।’

शिक्षाकर्मीहरू विद्यार्थीको जीवनसँग जोडिने भएकोले निजी विद्यालयका सञ्चालक कहिल्यै पनि उत्तेजित हुन नहुने उनको भनाइ छ । ‘हरेक ठाउँमा हुने चरम भ्रष्ट्राचार कारण यो आन्दोलन भएको हो’, उनले भने, ‘परिवर्तनको संवाहक शिक्षाकर्मी भएकोले हामी संयमित भएर आफ्ना पेशा व्यवसायप्रति जिम्मेवारी भएर लाग्न म आग्रह गर्दछु ।’

५४ वर्षपछि नयाँ शिक्षा ऐन आउनेक्रममा अहिलेको परिस्थितिले फेरि अन्योलता थपिएको उनको भनाइ छ । अहिलेको अन्तरिम सरकारले कुनै पनि कानून बनाउन नसक्ने बताउँदै उनले निर्वाचनपछि बन्न सरकारले नयाँ शिक्षा ऐन ल्याउनमा आशावादी भएको उनको भनाइ थियो ।

पोखरा महानगरका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्णप्रसाद भण्डारीले पोखराका शैक्षिक गुणस्तर वृद्धि गर्नका निजी विद्यालयको भूमिका अतुलनीय रहेको बताए ।

शिक्षा महाशाखाले ल्याएका हरेक कार्यक्रम सफल बनाउन नेशनल प्याब्सनको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले शैक्षिक गुणस्तर सुधारका क्रममा आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा कास्कीका सल्लाहकार रामबहादुर मोचीले संस्कारसहितको स्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

जेन-जी आन्दोलनका क्रममा भएका घटनाले पनि अझै जिम्मेवारी बन्नु पर्ने देखाएको भन्दै मोचीले कर्ममा धर्म मिसिएको पेशा भएकोले पनि अब संस्कारसहितको स्तरीय शिक्षाबाट विद्यार्थीलाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्काले हरेक आन्दोलन र संघर्षमा निजी विद्यालयका सञ्चालक मारमा पर्ने गरेको भन्दै शिक्षा पेशामा भएकाले थप जिम्मेवार भएको अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, मन्टेसरी एसोसिएसन कास्कीका अध्यक्ष भवानी अधिकारी, संगम पब्लिकेशनका ऋषिराम शर्मा भण्डारीलगातले बोलेका थिए ।

कार्यक्रममा नेशनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी, लेखासमिति संयोजक दीपु भारीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले सञ्चालन गरेका थिए ।

साेही अवसरमा नेशनल प्याब्सनमा आवद्ध न्यू लिटिल स्टेप इंगलिस बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल सुरेन्द्रराज पाण्डेलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.