काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शनिबार वीर अस्पताल र ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।
अस्पतालबाट बाहिरिने क्रममा पुनले घाइते जेनजीलाई आफ्नो शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको प्रतिक्रिया दिए ।
उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरूलाई आन्दोलनको मागको बढी चिन्ता रहेको बताए ।
बिरामीहरूका माग वा मुद्दा भनेको जेनजी आन्दोलनको माग भएको भन्दै मन्त्री पुनले बताए ।
उनका अनुसार घाइतेको स्वास्थ्य उपचार राम्रै भइरहेको छ ।
उनले ट्रमा सेन्टरमा दुई जना पढ्ने विद्यार्थी पनि रहेको भन्दै सञ्चो भएपछि पढाइको विषयमा पछि जे गर्नुपरे पनि गर्न तयार रहेको आश्वासन दिएको बताए ।
हालका लागि अन्तरिम सरकारले जे घोषणा गरेको छ, त्यही अनुसारको काम हुने पनि उनको भनाइ छ ।