काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि यो देशलाई संवैधानिक, लोकतान्त्रिक र सुशासनको मूलधारमा ल्याउने बताएका छन् ।
बडादशैँको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा अध्यक्ष ओलीले देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूले नै लिएको दोहोर्याउँदै संवैधानिक, लोकतान्त्रिक, मूलधारमा देशलाई ल्याउने बताएका हुन् ।
ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाए ।
वर्तमान सरकारप्रति तीव्र आलोचना र चुनौती दिँदै उनले भने, ‘जेनजी सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको सरकार हो । यो सरकारलाई म भन्न चाहन्छु, मेरा अभिव्यक्तिहरू, बोलेका कुराहरू प्रकाशन गरेर जनताको बीचमा ल्याओस् । कर्मचारीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती बाहिर ल्याओस् । प्रहरीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती पनि बाहिर ल्याओस् । सबै क्षेत्रमा गरिएका कामहरू रेकर्डेड छन्, सबै बाहिर ल्याओस्। हामीले गरेका कामहरू रेकर्डेड छन्, त्यो पनि ल्याओस् ।’
ओलीले आफूहरूले कुनै पनि षड्यन्त्र नगर्ने स्पष्ट पार्दै छलछाम र षड्यन्त्र होइन, पारदर्शी ढंगले अगाडि बढ्ने बताए ।
जनतालाई सेवा-सुविधा दिन, शान्ति-सुरक्षा कायम गर्न र कानूनी राज्यको स्थापना गर्न एमालेको नीति स्पष्ट रहेको भन्दै उनले भने, ‘हामी कुनै छलछाम गर्दैनौं । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अगाडि बढ्छौँ ।’
भ्रष्टाचारको आरोपप्रति पनि ओलीले कडा प्रतिक्रिया जनाए । उनले थपे, ‘भ्रष्टाचार ग¥यो भनेर हल्ला गरेर हुँदैन । कहाँ, केमा ग¥यो, केमा घुस खायो ? यस्ता कुरा अफवाह मात्र हुन् ।’
अहिलेको सरकारले केही नेताहरूको पासपोर्ट रोक्ने तयारी गरिरहेको चर्चाप्रति ओलीले भने, ‘अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ । के ठानेको छ त्यो सरकारले? यो हा-हु गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ? के सोचेकै हो ?’
ओलीले देश असुरक्षित बनाउने र आतंक फैलाएर सत्तामा पुग्नेहरू किन नै सुरक्षा दिने नसकेको भन्दै प्रश्न गरे ।
उनले भने, ‘सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन ? असुरक्षामा देश हाल्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा नदिने यो त सरासर अन्याय हो ।’