काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको निष्कर्ष निकालेको छ ।
साथै आन्दोलनका क्रममा लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पुर्याउने प्रयास भएको उल्लेख गर्दै अराजक गतिविधिप्रति कडा आपत्ति जनाएको छ ।
बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरूलगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा जनाएको छ ।
अराजक क्रियाकलापमा संलग्नहरूमाथि छानबिन गरी कडा भन्दा कडा कारबाहीको माग गर्दै वर्तमान सरकारलाई फोरमले कडा सन्देश दिएको छ ।
सिंहदरबारको पुनर्निर्माणका लागि मेयर्स फोरमले पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
साथै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रुपैयाँ उपत्यका प्रहरी कार्यालयलाई प्रदान गरिने र तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाको सेवा प्रवाह सहज बनाउन आवश्यकताका आधारमा थप सहयोग गरिने फोरमले जनाएको छ ।
फोरमले आन्दोलनको क्रममा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, संवैधानिक शासन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवा पुस्ताको मागप्रति ऐक्यवद्धता जनाएको छ ।
फोरमले राष्ट्रपतिद्वारा विषम परिस्थितिमा गरिएको पहलको पनि स्वागत गर्दै कृतज्ञता व्यक्त गरेको छ । बैठकमा काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र तीन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू सहभागी थिए ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जन र महासचिव घनश्याम गिरीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तहबीचको सहकार्य, समन्वय, असल अभ्यासको आदानप्रदान र नागरिक सेवा प्रवाहमा प्रतिबद्धता जनाइएको छ ।
साथै, सार्वजनिक सम्पत्तिको संरक्षण र संकटको बेला संयमता अपनाउन सबै संघसंस्था, समूह तथा टोल विकास संस्थासँग एकजुट हुन अपिल गरिएको छ ।