नेकपा माओवादी केन्द्रको हालै सम्पन्न बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी एजेन्डामात्रै उठाइएको देखिन्छ । तर, वर्तमान राष्ट्रिय परिस्थिति र पार्टीको आन्तरिक अवस्था हेर्दा मात्र नेतृत्व परिवर्तनले समस्या समाधान नहुने प्रष्ट छ । यस सन्दर्भमा पार्टीलाई सुदृढ, अनुशासित र जनतामुखी बनाउन यी विषयलाई मूल एजेन्डा बनाएर अगाडि बढ्नु जरुरी छ ।
१) संगठनात्मक पक्षः
गुटबन्दी र आन्तरिक खिचातानी अन्त्य गर्ने स्पष्ट कार्ययोजना बनाउनतर्फ लागौँ । पार्टी भित्रको निर्णय प्रक्रिया पारदर्शी र सहभागी बनाऔं ताकि प्रत्येक तहका कार्यकर्ता सुनेको महसुस गर्न सकून् । युवा र नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी दिने स्पष्ट नीति लागू गरौँ । अवसर पाएकालाई आराम दिउँ । सधैँभरि जनयुद्ध धङ्धङीबाट पार्टीलाई मुक्त गरौँ ।
२) राजनीतिक रणनीतिः
जनताप्रतिको भरोसा फर्काउने कार्यक्रम ल्याउने कार्यक्रम तयार पारौँ । भ्रष्टाचारविरुद्ध ठोस कदम, जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्या समाधानका लागि विपक्षीमात्र होइन, आफ्नै कमजोरीको आत्मसमीक्षा गर्दै सुधारको बाटोतर्फ अग्रता देखाउ । अनावश्यक टिकाटिपणी गर्न बन्द गरौँ । पार्टीले कसैसँग चुनावी तालमेल गर्ने रणनीति नगरौँ ।
३) विचार र नीतिः
समाजवाद र समावेशी लोकतन्त्रको स्पष्ट खाका तयार गरी जनता सामु राखौँ । विकास र रोजगारीका मुद्दा अग्रस्थानमा राख्दै जनताको जीवनस्तर उकास्ने योजना प्रस्तुत गर्ने कार्यक्रमलाई प्राथमिकता साथ अगाडि बढौँ ।
४) जनसंगठन विस्तारः
गाउँदेखि शहरसम्म महिला, दलित, जनजाति, पिछडिएका वर्गलाई सशक्त बनाउने अभियान सञ्चालन गरौँ । डिजिटल माध्यमबाट युवा पुस्तासँग प्रत्यक्ष जोडिने नीति अबलम्बन गरौँ ।
५) नैतिकता र अनुशासनः
नेतृत्व र कार्यकर्ताले इमानदारी र जनसेवाको संस्कारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउन पद र जिम्मेवारीमा रहनेहरूले उदाहरणीय आचरण देखाउने त्यस्तो व्यवस्था कडाइका साथ लागू गरौँ । कसैले कसौलाई आलोचना नगरौँ नेताहरूद्वारा आफ्नो सम्पत्ति सार्वजनिक गरौँ, पार्टीलाई चन्दाले मात्रै चलाउने होइन महिनामा एक दिन श्रमदान गर्दै उत्पादनमा जौडौँ । बाँकी कुरा समय र परिस्थिति अनुसार नै अघि बढाैँला ।
६) पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य
पार्टी भित्र गुटगत गतिविधिले संगठनात्मक एकता कमजोर पारेको छ । यसलाई अन्त्य गरी आन्तरिक लोकतन्त्रको आधारमा स्वस्थ बहस-विचार विमर्श गर्ने वातावरण बनाउनुपर्छ ।
७) पार्टीमा परिवारवादको अन्त्य
नेतृत्व र जिम्मेवारी वितरणमा परिवारवाद हावी हुनु घातक प्रवृत्ति हो। यसलाई तुरुन्त अन्त्य गर्दै योगदान, योग्यता र निष्ठालाई मात्र मापदण्ड बनाउनुपर्छ ।
८) भ्रष्टाचारको अत्य
देशभर भ्रष्टाचार व्यापक रूपमा फैलिएर समाजको नैतिक आधार कमजोर बनेको छ। पार्टीले आफ्नै संरचना भित्र शुद्धता कायम गर्दै, राष्ट्रिय रूपमा भ्रष्टाचारविरुद्ध ठोस अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
९) नेताहरूको लोभलाग्दो जीवनशैली र सम्पत्ति मोह अन्त्य
जनताको दुःख र पीडामा सहजीवन बाँड्ने नेताको संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक छ । ऐश्वर्यशाली जीवनशैली र सम्पत्ति मोहलाई पार्टी आचारसंहितामै निषेध गर्नुपर्छ ।
१०) प्रत्यक्ष लोकतन्त्रको अभ्यास
पार्टीका नीति-निर्णय केही व्यक्तिमा सीमित नभई आधारभूत सदस्यसम्म पुग्ने गरी प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र अभ्यास गर्नुपर्छ । यसका लागि आधुनिक प्रविधि र संरचनात्मक व्यवस्था अवलम्बन गर्न जरुरी छ ।
११) शिक्षा र स्वास्थ्यमा बढ्दो निजीकरणबारे स्पष्ट नीति
शिक्षा र स्वास्थ्यलाई नाफामुखी व्यवसाय बन्न नदिई राज्यको जिम्मेवारीअन्तर्गत सबैलाई पहुँच हुने गरी नीति निर्माण गर्नुपर्छ । सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन र स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्न ठोस कार्यक्रम ल्याइनुपर्छ ।
उपरोक्त विषयलाई मुख्य एजेन्डा बनाएर अघि बढ्दामात्र पार्टी पुनः जनविश्वास हासिल गर्न सक्षम हुन्छ । अब नेतृत्व परिवर्तनमात्र होइन, गुटबन्दी, परिवारवाद, भ्रष्टाचारको अन्त्य गर्दै प्रत्यक्ष लोकतन्त्र, सादगीपूर्ण नेतृत्व शैली र शिक्षा-स्वास्थ्यमा स्पष्ट नीति निर्माणलाई तत्कालीन प्राथमिकता दिने निर्णय गर्न अत्यन्तै जरुरी छ । (लेखक नेकपा माओवादी केन्द्रका नेता हुन्।)