गुल्मी। गुल्मीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मदाने गाउँपालिका वडा नं ५ झ्यानपानीका चार वर्षीया रियासा विक छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब २ बजे चट्याङ लागेर विकको घटनास्थलमै मृत्यु भएको हो।
चट्याङका कारण बालिकाका बुबा नेरसिंह विक र आमा सुन्तली विक पनि घाइते भएका छन्।
घरमा सुतिरहेको अवस्थामा चट्याङ पर्दा नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने सुन्तलीको पेट र दाहिने खुट्टामा चोट लागेको प्रहरीले बताएको छ।
घाइते दम्पतिलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको छ।