पोखरा । बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
सुपर फोरअन्तर्गत बुधबार राति भएको खेलमा बंगलादेशलाई पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो ।
भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर तीन बलमा एक सय २७ रनमा अलआउट भयो ।
बंगलादेशका ओपनर सेफ हसनले सर्वाधिक ६९ रन बनाए पनि अन्यबाट उल्लेख्य योगदान हुन सकेन । पर्वेज हसन इमोनले २१ रन बनाए ।
भारतका कुलदीप यादवले चार ओभरमा १८ रन दिएर तीन विकेट लिए । जसप्रित बुमराह र वरुण चक्रवर्तीले दुई-दुई तथा अक्षर पटेलले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा छ विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो ।
ओपनर अभिषेक शर्माले ७५ रन बनाए । हार्दिक पान्ड्याले ३८ रन बनाए । बंगलादेशका रिशाद होसेनले दुई विकेट लिँदा तन्जिम हसन साकिब, मुस्तफिजुर रहमान र मोहम्मद सैफुद्दिनले एक-एक विकेट लिए ।
यो जितसँगै सुपर फोरमा दुई खेलमा चार अंक जोडेको भारत फाइनलमा पुगेको छ ।
भारतले अब श्रीलंकासँग खेल्न बाँकी छ । श्रीलंका प्रतियोगिताबाटै बाहिरिएको छ ।
अब सुपर फोरमा बंगलादेश र पाकिस्तानबीचको खेलको विजेता फाइनलमा पुग्ने अर्को टोली बन्नेछ ।