पोखरा । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूले पार्टीको विशेष महाधिवेशनको माग गरेका छन् । उनीहरूले पार्टीलाई अघि बढाउने विकल्प विशेष महाधिवेशनबाहेक अन्य हुन नसक्ने स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेस कास्की १ का सभापति राजेन्द्रमणि लामिछानेको सभापतित्वमा भएको भेलामा गण्डकीका १३ जना क्षेत्रीय सभापति सहभागी भएका थिए । गण्डकीमा १८ निर्वाचन क्षेत्र छ ।
भेलामा सहभागी १३ मध्ये ११ जना सभापति पार्टीको विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा उभिएका छन् ।
पार्टीको विशेष महाधिवेशन तत्कालै आह्वान गर्न माग गर्ने भेलाले निर्णय गरेको सभापति लामिछानेले जानकारी दिए ।
आवश्यक परे त्यसका निम्ति हस्ताक्षर अभियान चलाउने र यथास्थितिमै आउँदो फागुन २१ गतेको चुनावमा जान नसक्ने निश्कर्ष निकालेको उनले बताए ।
क्षेत्रीय सभापतिहरूले तल्लो तहसम्मै हस्ताक्षर अभियान पुर्याएर केन्द्रीय नेतृत्वलाई दबाब दिने तयारी भएको सभापति लामिछानेले स्पष्ट पारे ।
अहिलेकै नेतृत्वका साथ चुनावमा गए कांग्रेसले ठूलो क्षति बेहोर्ने दावी गर्दै लामिछानेले भने, ‘अहिले देशमा विषम परिस्थिति छ । अहिलेकै नेतृत्वमा चुनावमा गए ठूलो क्षति हुने सम्भावना छ ।’
अहिले जनतामा गिरेको शाखबाट माथि उठाउनका लागि विशेष महाधिवेशन उपयुक्त बाटो भएको भन्दै सभापति लामिछाने नयाँ नेतृत्वका साथ अघि बढ्दा जनताको विश्वाससँगै निर्वाचन पनि जित्न सकिने भेलाको निष्कर्ष रहेको बताए ।
कास्की-२ का क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, तनहुँ क्षेत्र नं १ का श्यामकुमार मौरती, तनहुँ क्षेत्र नं २ का क्षेत्रीय सभापति चूडामणि खनाल र बागलुङ क्षेत्र नम्बर २ का सभापति जोकलाल बुढाले पछिल्लो परिस्थिति र भूइँतहका कार्यकर्ताको माग पनि विशेष महाधिवेशन भएको स्पष्ट पारे ।
उनीहरूले तल्लो तहसम्मै पार्टी रुपान्तरण र तत्काल नेतृत्व हस्तान्तरणका निम्ति विशेष महाधिवेशन डाक्न आवाज उठाउनुपर्नेमा जोड दिए ।
सभापतिहरूले अब पनि यही नेतृत्व रहने हो भने आफूहरूले राजीनामा दिनेबाहेक अर्को विकल्प नभएको चेतावनी दिएका छन् । परिस्थिति आयो भने हस्ताक्षर अभियान चलाएर भए पनि पार्टीलाई विशेष महाधिवेशनमा लैजानुपर्ने उनीहरूको तर्क छ ।