पोखरा । मुग्लिन-नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम शुरू गरिएको छ ।
मंगलबार दिउँसो करिब ५ बजेतिर खसेको ठूलो पहिरो बुधबार बिहानैबाट पन्छाउने काम शुरू गरिएको हो । पहिरो पन्छाउन बुधबार दिनभर लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
पहिरोका कारण सडक आवागमन दुईतर्फी नै बन्द हुँदा सवारी चालक एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । तर वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरू सडक खुल्ने आशमा बसिरहेका छन् । सडकको दुवैतर्फ सवारी साधनका लामा लाइन भएको छ ।
‘तुइन खोलाको पुल नजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ’, सूचनामा भनिएको छ, ‘पहिरो पन्छाउनका लागि आज दिनभर लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनी एवं यात्रु महानुभावलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।’
हाल पहिरोको दुवैतर्फ सवारी साधनहरु चलेका छैनन् । वैकल्पिक सडक प्रयोग गरि यातायात सञ्चालन गरिएको छ । त्रिभुवन राजपथ (नौबिसे-हेटौँडा), कान्ति राजमार्ग (सातदोबाटो-भैरब मन्दिर-बगुवा-लेनडाडा-हेटौँडा) कालीगण्डकी कोरिडोरबाट छिरेर (गैँडाकोट-पाल्पा रामपुर-भिमाद-तनहुँ), धादिङ (फिर्केखोला-धादिङबेशी-सल्यानटार), गोर्खा (आरुघाट-आबुखैरेनी), बुटवल-पोखरा वैकल्पिक सडक प्रयोग भइरहेको छ ।





