काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले दशैँमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुबाट बढी भाडा नलिन आग्रह गरेको छ ।
दशैँकाे बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सकेजति यात्रुहरूको सेवालाई सहज बनाउन देशभरिका सम्पूर्ण यातायात श्रमिकलाई अनुरोध गरेको छ ।
आज दशैँको पहिलो दिन घटस्थापनादेखि सरकारले देशभरिका रुट पर्मिट (बाटो इजाजतपत्र) असोज २२ गतेसम्म खुला गरेको छ ।
संगठनका अध्यक्ष भीमज्वाला राईले चाडको बेला यात्रुसँग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासा विगतमा आउने गरेकाले यस्ता गुनासा आउन नदिन तोकिएको भन्दा बढी भाडा कुनै पनि यात्रुसँग नलिन अपिल गरेका हुन् ।
अध्यक्ष राईका अनुसार हामी सेवा प्रदान गर्ने श्रमजीवी भएकाले राज्यले निर्माण गरेको नीति र विधिका आधारमा सेवा प्रदान गर्नु श्रमिकको दायित्व भएको बताए ।
एक जना मजदुरले कुनै यात्रुसँग एक रुपैयाँ मात्रै बढी भाडा लिएको सन्देश प्रवाह भएमा देशभरिका यातायात मजदुरको बदनाम हुने भएकाले श्रमिकको प्रतिष्ठाका लागि पनि त्यस्तो कार्य नगर्न अनुरोध गरिएको अध्यक्ष राईले बताए ।
अध्यक्ष राईले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सरोकारवालासहितको छलफलका आधारमा गत वर्ष पुस २२ गते निर्धारण गरेको देशभरिका रुटका भाडादर नै अहिलेको आधिकारिक भाडा भएकाले सोही अनुसार यात्रुबाट भाडा लिन र सोही अनुसार टिकट काट्न संगठनले सबै मजदुरलाई आग्रह गरेको बताए ।
यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नर्मल, डिलक्स र सुपर डिलक्सका आधारमा निर्धारण गरेको भाडादर सबैले आआफ्नो सवारीसाधनमा र बुकिङ काउन्टर मा सबै यात्रुले देखिनेगरी टास्न र सोही अनुसार भाडा लिन र टिकट काट्न संगठनले श्रमिकलाई आग्रह गरेको छ ।
यात्रुसंग बढी भाडा लिएको उजुरीपरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (थ) को कसुर अनुसार कानूनी कारबाही समेत हुनसक्ने भएकाले यसबारे सबै श्रमिक सजग हुनुपर्ने संगठनले आह्वान गरेको छ ।