Nidan Media

कार्की सरकारमा थपिए पाँच मन्त्री, को-को हुन् ?

पोखरा । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् नाै सदस्यीय बनेको बताइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिएकी छन्। राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।

साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त भएका छन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा विद्यावारिधि गरिरहेका छन् ।

यसैगरी स्वास्थ्य मन्त्रालयकी कर्मचारी संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रालयको बागडोर सम्हाल्ने गरी जिम्मेवारी दिइएको छ । प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुँदा अतिरिक्त सचिव मिश्रा स्वास्थ्य सचिवकी प्रतिस्पर्धी थिइन् ।

तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको सचिव बढुवा गर्ने निर्णयमा उनी परिनन् । अरू प्रतिस्पर्धीभन्दा सिनियर भएर पनि आफू मधेसी महिला भएकै कारण सचिव बढुवामा नपरेको उनले आरोप समेत लगाएकी थिइन् ।

यस्तै, प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई मन्त्री बनाएकी छन् । उनलाई उद्योग मन्त्रालयको जिम्मा दिइएको छ ।

साथै तत्कालीन राज्य पुनर्संरचनाका संयोजकसमेत रहेका डा. मदन परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.