पोखरा । पहिरो खसेर ४२ घण्टापछि सञ्चालनमा आएको मुग्लिन-नारायणगढ सडकखण्ड आज राति पनि बन्द गरिने भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ तुइन खोलानजिक खसेको पहिरो पन्छाएपछि खतरा नटरेको भन्दै रातिमा सवारी प्रवेश रोक्न लगाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
राति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको जिल्ला सुरक्षा समिति चितवनले जानकारी दिएको छ ।
पहिरो पन्छाएसँगै आज साँझ ५ बजेदेखि सडक एकतर्फ सञ्चालनमा आएको थियो ।
तुइन खोला नजिक पहिरो खस्नेक्रम नरोकिएकाले जनधनको क्षति हुन नदिन तुइन खोलामा भीर नै सडकमा खसेपछि तीन दिनदेखि राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो ।
शुक्रबार बेलुकादेखि खसेको पहिरो शनिबार बिहानबाट पन्छाउन थालिएकोमा खस्नेक्रम नरोकिँदा आइतबार अपरान्ह ४ बजेसम्म लागेको थियो । यस दौरान यातायात ठप्प हुँदा यात्रु सडकमै अलपत्र परेका थिए । यात्रुका लागि जिल्ला प्रशासन कार्यालय र विभिन्न संघ संस्थाले खाद्यान्न उपलव्ध गराएका थिए ।