Nidan Media

लगानीमैत्री वातावरण बिग्रन नदिन सरोकारवाला गम्भीर हुनुपर्छ : अध्यक्ष ढकाल

पाेखरा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोडको स्थलगत निरीक्षण गरेका छन्।

साे क्रममा अध्यक्ष ढकालले यस्ता घटनाले लगानीको वातावरणमा दीर्घकालीन असर पार्ने भन्दै नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गरे ।

नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै उनले यस्ता घटनाले देशको आर्थिक विकासमा गम्भीर असर पार्ने भएकाले सरकार, राजनीतिक दल र सरोकारवालाले लगानीमैत्री वातावरण कायम गर्नुपर्नेमा जाेड दिए ।

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यावसायिक सम्पत्तिमाथि आक्रमण भएको, जसले दैनिक उत्पादन र रोजगारीमा प्रत्यक्ष असर पारेको उनले बताए ।

नेपालमा वैदेशिक तथा आन्तरिक लगानी प्रवर्द्धन गर्न महासंघले निरन्तर पहल गर्दै आएको भए पनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश जाने अवस्था बनेको उनकाे भनाइ छ ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी छ । यस्तो अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीको शान्ति र सुरक्षाको प्रत्याभूति अनिवार्य रहेको महासंघले जनाएको छ ।

यसअघि महासंघले अर्थमन्त्री र गृहमन्त्रीसँग भेट गरी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको उचित छानविन, दोषीमाथि कानूनी कारवाही र लगानीमैत्री वातावरण सुनिश्चित गर्न आग्रह गरिसकेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.