पाेखरा । यमनको राजधानी साना तथा अन्य क्षेत्रमा हजारौँ मानिसहरूले इजरायलको गाजामा जारी सैन्य अभियान र क्षेत्रीय देशमाथि गरिएको धम्कीविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले गाजामा इजरायलद्वारा गरिएको नरसंहार, जातीय सफाया, भोकमरी, विस्थापन र विनाशलाई कडा रूपमा निन्दा गरेका छन् र यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
उनीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिका इजरायलप्रति पक्षपाती रहेको र शान्ति स्थापनाका प्रस्तावलाई रोक्न बारम्बार भिटो शक्ति प्रयोग गरेको पनि आलोचना गरेका छन् ।
यमनको हाउथी समूहका राष्ट्रिय रेडियो तथा टेलिभिजनका महाप्रबन्धक अब्दुलरहमान अल-अहनोमीले भने, ‘साना र यमनमाथि बारम्बार इजरायली आक्रमण भए पनि, कतार, प्यालेस्टाइन र छिमेकी देशमा इजरायली उल्लङ्घन भए पनि यमनका जनता आफ्नो स्थितिमा अडिग छन् । प्यालेस्टिनी जनतालाई समर्थन जारी राख्छन् र प्यालेस्टाइनसँग ऐक्यबद्धतामा सैन्य गतिविधि जारी राख्नेछन् ।’
इजरायलले हालै हाउथी नियन्त्रण क्षेत्रमा हवाई आक्रमण तीव्र बनाएको छ । यसले केवल सैनिक स्थल मात्र नभइ बन्दरगाह, विद्युत् स्टेशन, इन्धन गोदाम र अन्य पूर्वाधारलाई पनि लक्षित गरेको छ । सञ्चारमाध्यम पनि आक्रमणबाट प्रभावित भएका छन् ।
सेप्टेम्बर १० मा भएको एक हवाई आक्रमणमा ३२ जना पत्रकारको मृत्यु भएको बताइएको छ ।
शुक्रबारको प्रदर्शनमा हाउथी नेताहरू र सहभागीहरूले गाजास्थित प्यालेस्टिनी जनतालाई समर्थन जारी राख्ने र इजरायलले गाजामा आफ्नो सैन्य अभियान रोक्न नभएसम्म ड्रोन तथा मिसाइल हमला जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एजेन्सी