काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतालाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।
राष्ट्रपतिले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको बताए। उनले संविधानले प्रत्याभूत गरेका सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने र सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिए।
उनले संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्न सबैलाई मन, वचन र कर्मले इमान्दार र प्रभावकारी प्रयास जारी राख्न आह्वान गरे।
राष्ट्रपतिले मुलुकको प्रकृति र संस्कृतिले रोजगारी र आम्दानीका असीमित सम्भावनाका ढोकाहरू खोलेको बताए। उनले सबै प्रकारका बेथितिहरूको अन्त्य गरी सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके नेपाल छिट्टै नै समृद्ध राष्ट्रको अग्रस्थानमा पुग्न सक्ने विश्वास व्यक्त गरे।
उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचना र बहुजातीय, बहुभाषी तथा बहुसांस्कृतिक समाजलाई संविधानले समान संरक्षण दिएको हुँदा नेपालीहरूबीचको सद्भाव र सहअस्तित्वमा आँच आउने काम कसैबाट पनि नहुने अपेक्षा राखेका छन्।
विसं २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको ऐतिहासिक उपलब्धिको स्मरणमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदैछ।
यस अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
उनले गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरू र सहभागी सबै नागरिक तथा राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा पनि गरे।





