काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । बिहीबार भएको कुराकानी करिब २० मिनेट जति भएको थियो ।
कार्कीसँगको कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका हुन् । उनले एक्समा शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन् ।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशिला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरेँ । हालैको दुःखद घटनामा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेँ र शान्ति तथा स्थिरता पुनःस्थापना गर्न उहाँले गरेका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ’, उनले लेखेका छन् ।
उनले संविधान दिवसको पनि शुभकामना दिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘साथै भोलि नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरेँ ।’