पोखरा । नेपालको पहाडी तथा अन्य क्षेत्रमा अविरल र भारी वर्षासँगै सप्तकोशी नदीमा जल सतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् ।
बुधबार बिहान गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको हो ।
मङ्गलबार राति १० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ८२ हजार २८७ प्रतिसेकेण्ड पाइएपछि २४ ढोका खोलिएको थियो ।
गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो ।
त्यसपछि लगातार पानीको बहाव घटेको थियो भने बुधबार बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले बताए ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।
सोहीअनुसार अहिले कोशी ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।