पोखरा । जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्न आन्दोलनरत पक्षले सम्झौता पत्रको मस्यौदा तयार गरेको छ ।
१३ बुँदामा तयार मस्यौदामा पाँच जना ३५ वर्षमुनिका जेनजेट तथा युवा प्रतिनिधि सरकारमा सहभागी गराउन प्रस्ताव गरिएको छ ।
सम्झौतामा दशकौँदेखिको कुशासन, भ्रष्टाचार, जवाफदेहिताको अभाव, सार्वजनिक संस्थामा भएको दलीयकरण र दण्डहीनताविरुद्ध आम नेपाली जनताको असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्नुपर्ने भनी मस्यौदामा उल्लेख गरिएको छ ।
यस्तै राजनीतिक नियुक्ति अन्त्य गरी सार्वजनिक संस्थामा स्वतन्त्र, निष्पक्ष र सक्षम व्यक्तिको नियुक्ति गर्नुपर्ने उल्लेख छ ।
‘स्पिक अप नेपाल’ नामक वेबसाइटमार्फत सार्वजनिक गरिएको मस्यौदामा खुला छलफलका लागि आह्वानसमेत गरिएको छ ।